काठमाण्डौ । निर्वाचन आयोग मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा छ । आयोगले निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा तथा सम्बन्धित जिल्लामा पु¥याउने कामलाई तिब्रता दिइरहेको छ । उपनिर्वाचनको तयारीमा कुनै कमी नगरिएको आयोगको दावी छ ।
निर्वाचन आयोग उपनिर्वाचनलाई सफल रुपमा सम्पन्न गराउन व्यस्त छ भने राजनीतिक दलहरु चुनावी प्रचारमा सक्रिय छन् । निर्वाचनमा ३७ जिल्लामा गरी कुल ४ लाख ५४ हजार ११४ जना मतदाता सहभागि हुँदैछन् । उपनिर्वाचनका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । मतपत्र छपाईको काम भने विहिबारदेखि मात्रै सुरु हुँदैछ । नेपाली सेनाको सुरक्षाघेराभित्र मतपत्र छपाईको काम गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
उपनिर्वाचन प्रयोजनका लागि मतदाता शिक्षा कार्यक्रम मंसिर ५ देखि ११ मंसिरसम्म सञ्चालन गर्ने आयोगको तयारी छ । आयोगले निर्वाचन सामग्रीहरु उपनिर्वाचन हुने जिल्लाहरुमा पु¥याउने काम गरिरहेको छ । काठमाण्डौबाट नजिक पर्ने जिल्लाहरुमा निर्वाचन सामग्री पु¥याइसकेको आयोगले टाढाका जिल्लामा भने पुग्ने क्रममै रहेको प्रवक्ता श्रेष्ठले बताए ।
उपनिर्वाचनका लागि १४ मंसिरमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुनेछ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन भन्दै आयोगले कार्तिक ८ बाटै आचारसंहिता लागू गरिसकेको छ । उपनिर्वाचनमा नेकपा र कांग्रेसका तर्फबाट अव हुने उम्मेदवार विचनै मुख्य प्रतिष्पर्धी मानिएको छ । कास्की– २ मा नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले खेमराज पौडेललाई अघि सारेको छ ।