काठमाडौं, किर्तिक २८ । भूकम्प गएको साढे ४ वर्षमा हालसम्म ३ सय ८७ सम्पदा पुनर्निर्माण भएको पुरातत्व विभागले जनाएको छ। विभागका अनुसार अबको केही महिनाभित्र ४ सय र दुई वर्ष्भित्र सबै सम्पदा पुनर्निर्माण भइसक्ने छ। भूकम्पबाट अति प्रभावित १४ र बाँकी १७ गरी ३१ जिल्लाको सम्पदामा क्षति पुगेको थियो।
तीमध्ये झण्डै ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। विभागका प्रवक्ता रामबहादुर कुँवरले भूकम्पले ध्वस्त र क्षतिग्रस्त बनाएका ८ सय ९१ सम्पदामध्ये करिब ६० प्रतिशतको निर्माण सम्पन्न जनाएका छन् ।
नेपाल भ्रमण वर्षमा पर्यटकले देख्ने अधिकांश सम्पदा पुनर्निर्माण गरिसक्ने विभागको योजना छ। विभागको सम्पदा पुनर्निर्माण शीर्षकमा यो वर्ष ५ अर्ब १५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।
सो बजेटमध्ये नेपाल सरकारको १ अर्ब २६ करोड, भारतीय सरकारको १ अर्ब ८३ करोड, भारतीय एक्जिम बैंकको १ अर्ब ९१ करोड र जापान सरकारको १३ करोड रुपियाँ छ। बजेटअनुसार काम भए यो वर्ष करिब ७५ प्रतिशत सम्पदा पुनर्निर्माण भइसक्ने विभागको भनाइ छ।
भूकम्पबाट समग्रमा करिब १ हजार ६ सय र १४ जिल्लाका ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो।बहुवर्षीय योजनाका ८६ वटा सम्पदामध्ये हालसम्म करिब २५ सम्पदा पुनर्निर्माण भइसकेको आजको नेपाल समाचारपत्रमा खवर छ ।