Logo

‘अन्तर्राष्ट्रिय खतराबाट देशलाई जोगाउन सबै मिल्नुपर्छ, काँग्रेस पनि सरकारमा आउनुपर्छ’



काठमाडौं, २९ कात्तिक । समाजवादी पार्टीका नेता शिवजी यादवले देशमा राष्ट्रियताका लागि सबै एक हुनुपर्ने बताएका छन् । सबै मिलेर सीमाको रक्षा गर्नुपर्ने भन्दै देशमाथि अन्तर्राष्ट्रिय खतरा बढेको बताए । उनले नेपाली काँग्रेस पनि सरकारमा सहभागी भई आम सहमति बनाएर बढ्नुपर्नेमा जोड दिए । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
तपाईंको पार्टी सरकारमा रहन्छ कि रहँदैन ?
भरखरै हाम्रो ऐतिहासिक बैठक समाप्त भएको छ । हाम्रो पार्टीले सरकार छोड्छ भनेर मिडियाहरुमा धेरै चर्चामा आएको हो ।
पार्टीको बैठक बस्यो, निर्णय के भयो त ?
धेरै लामो संघर्ष र बलिदानीबाट प्राप्त नयाँ संविधानपछि देशमा जुन परिवर्तन आएको छ । त्यसको रक्षाको लागि पनि हामी तत्काल उत्तेजित हुने होइन । जुन एजेण्ड र सहमतिका साथ सरकारमा गएका छौं । त्यसैले सडक संघर्ष र संसदीय संघर्षमा अहिले छौं । यी प्राप्त उपलब्धिको रक्षाको लागि पनि सरकारमा बस्नैपर्छ भन्ने निष्कर्षमा हाम्रो पार्टीको बैठकको हो ।
डा. बाबुराम भट्टराईले त सरकार छाड्नुपर्छ भन्नुभएको छ नि ?
उहाँले त्यसो भन्नुभएको बिलकुलै होइन । तपाईं यो सरासर गलत कुरा भनिरहनुभएको छ ।
डा. भट्टराईले त्यसो भनेको मसँग प्रमाण नै छ कसरी गलत हुन्छ ?
पर्टीको मिटिङमा यी सबै कुरा उल्लेख गर्नुभएको छ । उहाँले पहिला जे सहमति भएको थियो । त्यसमा उपलब्धी नभएकोले सरकारसँग नयाँ ढंगले छलफल गरेर विचार गर्नुपर्छ । तर, सरकारै छोड्नुपर्छ भन्नुभएको छैन ।
उपेन्द्र यादवले किन सरकार छोड्न चाहनुभएन, उहाँलाई डर छ कि कसो हो ?
यसमा बाबुरामजी अध्यक्ष हुनुहुन्छ, त्यसैगरी उपेन्द्रजी पनि अध्यक्ष नै हुनुहुन्छ । हिजो निर्णय बाबुरामजीकै अध्यक्षमा भएको हो । जतिबेला नयाँ शक्तिको बाबुराम हुनुहुन्थ्यो त्यतिबेला उहाँको त्यो विचार थियो होला । तर, अहिले संघीय समाजवादी पार्टीमा बाबुरामजी र उपेन्द्रजीको विचार एउटै छ । पार्टीभित्र कार्यकर्ताहरुले बाहिर आएको जनचासोमा उठेको कुरा ल्याए । तर हिजो बसेको पार्टीको निर्णयमा अहिले सरकारमा बस्न आवश्यक छ भन्ने नै भयो । हाम्रो उपस्थितिले नै यो सरकारमा दुईतिहाई पुग्छ । त्यसले नै अहिले नयाँ संविधानमा जे जस्ता समस्याहरु पर्दछन् । त्यो समस्यालाई हल गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्नुछ । त्यसलाई संस्थागत ढंगले कार्यान्वयन गर्न सरकारमा हाम्रो उपस्थिति जरुरी छ ।
आज तपार्इंंको केन्द्रीय समिति बस्दैछ, फेरि हिजै सरकारमा बसिरहँने भनेर कसरी निर्णय गर्नुभयो ?
हिजो भनेको राष्ट्रिय परिषद् हो । त्यसलाई निर्णय गर्ने आफ्नो स्वतन्त्रता छ । राष्ट्रिय परिषद्ले छलफल गरेका कुराहरुमै केन्द्रीय समितिमा छलफल हुन्छ ।
राष्ट्रिय परिषद्ले गरेका निर्णयलाई केन्द्रीय समितिले उल्टाउन सक्दैन ?
आजको दिन नयाँ कुरा आयो भने त्यसमा केन्द्रीय समितिले निर्णय गर्न सक्छ । तर, केन्द्रीय समितिले गरेको निर्णयलाई अनुमोदन गर्ने त राष्ट्रिय परिषद् हो ।
तर, तपाईंहरुले सरकारमा बस्ने कि नबस्ने भनेर पहिला केन्द्रीय समितिमा निर्णय गर्ने होइन र ?
हाम्रो यसमा एउटा कार्यकारिणी समिति छ, त्यसमा यी कुराहरुमा छलफल हुन्छन् । तर, हिजो एजेन्डै आएन ।
राजेन्द्र श्रेष्ठले त हामी सरकारबाट बाहिरिन्छौं भन्नुभएको छ नि ?
राजेन्द्रजी अहिले संसदमा पनि हुनुहुन्छ । त्यहाँ जुन ढंगले संघर्ष गरिरहनुभएको त्यसैले त्यो उहाँको व्यक्तिगत विचार हुनसक्छ । तर, सिंगो पार्टीको विचार सरकारबाट निस्किने होइन । अहिले सरकारमै बसेर संघर्ष गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको छ ।
गौर हत्याकाण्डमा उपेन्द्रजीको संलग्नताको कुरा आएकोले उहाँ डराउनु भएको हो ?
यो त तपाईंले गजबको कुरा भन्नुभयो । उपेन्द्र यादव त्यो बेला यो पार्टीको अध्यक्ष पनि हुनुहुन्न थियो । यो पार्टी पनि निर्माण भएको थिएन । त्योबेला गौर हत्याकाण्ड भएको हो । त्यो बेला उहाँ व्यक्तिगत रुपमा केही समूहहरु लिएर संघर्ष गर्दैहुनुहृुन्थ्यो । त्यो बेलामा त उपेन्द्र यादव डराउनुभएन भने अहिले उहाँसँग समाजवादी पार्टी छ, अनि उहाँलाई के को डर छ । त्यो त मधेसी जनताले विद्रोह गरेको हो । उपेन्द्र यादव एउटा व्यक्तिले गरेको होइन । आज उपेन्द्र यादवको नेतृत्वमा जुन पार्टी छ, त्यो पनि त्यही विद्रोहको बलमा निर्माण भएको हो ।
उपेन्द्र यादव सरकारमा गएपछि उहाँलाई फाइदा भयो होला पार्टीलाई त भएको छैन नि ?
देशलाई फाइदा हुनुभनेको पार्टीलाई फाइदा भएको हो । पार्टी भनेको कुनै व्यक्तिको फाइदा हुनलाई होइन, देशलाई फाइदा हुनु हो । यो परिवर्तनको लागि संघर्ष गरेको त्यो पार्टीलाई पनि फाइदा छ । जसरी अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ, त्यसको रक्षार्थ हामीभन्दा चिन्तित कोही छैन ।
तपाईंहरुले मधेसी जनताको लागि त केही गर्न सक्नुभएन खालि देशलुट्न मात्रै ध्यान छ भनिन्छ नि ?
तपाईंजस्तो पत्रकारले देश लुट्नुभएको छ भनेर आरोप लगाउन मिल्छ । त्यसको लागि त यहाँ न्यायालय छ । राज्य छ, व्यवस्था छ, कस–कसले लुटेका छन् तिनलाई लगेर कोच्नुस् । अहिले भएका झ्यालखानाले पुग्दैन भने अर्को पनि झ्यालखाना बनाउनुस् लगेर कोचिदिनुस् । मैले त्यसरी लुटेको छु भने मलाई नै लगेर कोचेपनि हुन्छ । सस्तोलोकप्रियता बढाउन आरोप लगाउन पाइँदैन । हामी मधेस, पहाड, हिमाललाई एउटै रुपमा हेरिरहेका छौं । यसलाई छुट्ट्याएर भाँजो हाल्ने काम नगरियोस् । देशमा अहिले राष्ट्रिय एकताको खाँचो छ ।
राष्ट्रिय एकताको खाँचो तर, प्रधानमन्त्रीले बोलाउनुभएको सर्वपक्षीय बैठकमा त उपेन्द्र यादव देखिनुभएन नि ?
पार्टी अध्यक्षको मर्यादा क्रममा नम्बर एक डा. बाबुराम भट्टराई हुनुहुन्छ । उहाँ त्यो बैठकमा पुगिसकेपछि उपेन्द्र यादव पनि पुग्नुपर्छ भन्ने छैन । दलीय उपस्थितिमा जसरी ठूला पार्टीका ग्वार–ग्वारी जन्ती गएजस्तो जान्छन् । दलीय पस्थिति भनेपछि आफ्नो पार्टीको अध्यक्ष गएपछि त्यहाँ उसले आफ्नो पार्टीको विचार राख्दैन ? सबैपछि लागेर जानुपर्छ ? त्यसकारण हाम्रो विचार बोकेर स्वयं अध्यक्षनै गइसक्नुभएको छ । भने त्यहाँ उपेन्द्रजी जानैपर्छ भन्ने जरुरी छैन ।
डा. बाबुराम भट्टराई जाने, उपेन्द्र यादव किन नजाने ? प्रधानमन्त्रीले त उहाँलाई पनि बेलाउनुभएको थियो नि ?
प्रधानमन्त्रीले पार्टीलाई बोलाएको हो, पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएको हो । पूर्व परराष्ट्रमन्त्रीलाई पनि बोलाउनुभएको होला तर, उपेन्द्रजी त्यतिबेला काठमाडौंमा नहुनसक्नुहुन्छ । उहाँ नगएपनि पार्टीको विचार त त्यहाँ गइसक्यो नि ।
कालापानी, सुस्ता, लिपुलेकको बारेमा तपाईंहरुको पार्टीको धारणा के हो ?
हिजो प्रष्ट रुपमा यो कुरा उपेन्द्रजीले नै भन्नुभएको छ । उहाँ परराष्ट्रमन्त्री हुँदै नेपाल–भारतबीच दुईठाउँमा सीमा विवाद छ । ती हुन् सुस्ता र महाकालीको अहिले उठेको क्षेत्रमा विवाद छ । यसलाई कुटनीतिक पहल गरेर हल गर्नुपर्छ । राष्ट्रले जुनकिसिमको नीति अपनाएको छ त्यसै अनुरुप जानुपर्छ । अस्तिको सर्वदलीय बैठकमा पनि त्यही कुरा भएको हो । सुगोली सन्धिदेखि आएको यो समस्या हो । यसको समाधानको लागि सर्वपीय धारणामा हाम्रो समर्थन छ भनेर हामीले स्पष्ट भनिसकेका छौं । सुगौलीसन्धी अनुसार जहाँ सिमाना तोकिएको छ, सोही बमोजिम हल हुनुपर्छ । हामीलाई कसैको बढी पनि चाहिएको छैन, आफ्नो पनि दिने होइन । यी दुईठाउँका सीमाविवाद कुटनीतिक पहलबाट हल हुनुपर्छ भन्ने हाम्रो पार्टीको निष्कर्ष हो ।
कालापानी नेपालकै हो भन्ने तपाईंहरुको धारणा हो ?
हो, कालापानी, लिम्पियाधुरा, लिपुलेक र सस्ता नेपालकै हो । त्यहाँ अहिले विवाद भएको छ, त्यो कुटनीतिक पहलबाट हल हु्न्ुपर्छ । व्यक्तिगत रुपमा पनि म नेपालकै हो भन्छु ।
चीनले नेपालको भू–भाग मिचेको छ कि छैन ?
हिजो उपेन्द्र यादवजीले यताको भन्नुभयो र उताको भन्नुभयो । भारत र चीन दुवैले मिचेका छन् । त्यसैले यी दुवै देशको सीमा विवाद कुटनीतिक पहल गरेर वार्ताबाटै गर्नुपर्छ ।
तर, चीनले सीमा मिचेको कुरा बोल्न तपाईंहरु डराउनु हुन्छ नि ?
सीमा मिचेको कुरा उठाउन किन डराउने ? यस्तो पनि कुनै नेपाली होला जसले आफ्नो सीमा मिच्दा पनि बोल्न डराउने ? त्यस्तोमा राष्ट्रियता नै हुँदैन । राष्ट्रियता नभएको व्यक्ति पनि कुनै देशको नागरिक हुन्छ ? । त्यस्ता कुराको त हामी कल्पनै गर्न सक्दैनौं । राष्ट्रको सीमा जोगाउन हरेक नेपाल तयार छौं, र सक्षम पनि छौं ।
तपाईंहरुको आजको बैठकले पनि सरकारमा रहने निर्णय गर्छ हो ?
हो, त्यही निर्णय गर्छौ । यो सरकारबाट हामी हट्ने त होइन अझ अरु दललाई पनि सरकारमा ल्याउनुपर्छ भन्ने हो । अहिलेको नयाँ व्यवस्थालाई कार्यान्वयनमा ल्याउन प्रमुख प्रतिपक्ष कांग्रेस पनि सरकारमै रहेर सर्वपक्षीय सरकार बन्नुपर्ने हो । अन्तर्राष्ट्रिय खतराबाट राष्ट्रियता जोगाउन पनि त्यो आवश्यक छ । File Photo



प्रतिक्रिया दिनुहोस्