Logo

‘सहकारी प्रदेशको आर्थिक समृद्धको यात्रामा सहभागी हुुनुपर्ने’



विराटनगर, ३० कार्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धियात्रामा सहकारी प्रत्यक्ष सहभागी हुनुपर्ने बताएका छन् । राष्ट्रसेवा बहुमुखी सहकारी संस्था लिको २१ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले छरिएर रहेका पूँजीलाई एकत्रित गरी कृषिको व्यावसायिकरण, आधुनिकीकरण र रोजगारी सिर्जना गरी प्रदेशलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिन आग्रह गरे।

उनले मुलुकको आर्थिक समृद्धको एउटा खम्बाका रुपमा रहेको सहकारीले जनताको विकास र समृद्धको चाहनालाई पूरा गर्न प्रदेश सरकारसँग हातेमालो गरी हिँड्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री राईले प्रदेश सरकारले सहकारीलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि ल्याएको सहकारी ऐनको चर्चा गर्दै अब चाँडै बन्ने नियमावली व्यवस्थाबाट उत्पादनमुखी र रोजगारी सिर्जनामा यसको प्रभावकारी कार्यान्वयनले ठोस रुप लिने विश्वास व्यक्त गरे।

उनले प्रदेश सरकारले विकास र समृद्धका लागि गर्न लागेको लगानी सम्मेलनमा पेश गर्ने विभिन्न परियोजनाका विस्तृत अध्ययन प्रतिवेदनमा (डिपिआर) मा सहकारी पूँजी लगानीका लागि स्पष्ट छनोटको प्रस्ताव गरेको जानकारीसमेत गराए । सहकारीका अध्यक्ष जीवन काफ्लेले आव २०७६÷७७ का लागि रु ३३ करोडको आयव्ययको प्रतिवेशन पेश गर्नुभयो भने आव २०७५÷७६ मा रु ४६ करोडको कारोवार, रु २१ करोड निक्षेप सङ्कलन, रु २३ करोड ऋण लगानी र रु ३१ खुद मुनाफा भएको जानकारी दिए ।

सोही अवसरमा मुख्यमन्त्री राईले सहकारीको आर्थिक विकासमा योगदान दिनु हुने रमेश पोखरेललाई दधिराम दाहाल सहकारी पुरस्कारबाट सम्मानित गरे । यसैगरी उनले सहकारीका ज्येष्ठ सदस्य, सहकारी सदस्यका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गरेकामा सम्मान गरे। विसं २०५५ मा स्थापना भएको उक्त सहकारीमा ६३१ महिलासहित एक हजार ५८१ शेयर सदस्य छन् । रासस



प्रतिक्रिया दिनुहोस्