Logo

अर्बौंको सरकारी जग्गा भूमाफियाको कब्जामा : १४४ बिघा व्यक्तिको नाममा दर्ता



काठमाडौँ, १ मंसिर। भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवामा रहेको अर्बौं रुपैयाँबराबरको झन्डै १ सय ४४ बिघा सार्वजनिक जग्गा शृंखलाबद्ध रूपमा व्यक्तिका नाममा दर्ता गराइएको खुलासा भएको छ ।
माफियाहरूले बर्दिया जिल्ला साविकको सोरहवा गाविस–८ मा रहेको कित्ता नम्बर ४४२ अन्तर्गत रहेको १४३ बिघा ९ कट्ठा पर्ती जग्गा माफियाले वर्षाैंसम्म योजनाबद्ध प्रयासबाट कित्ताकाट गरी विभिन्न व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो ।
बाँके साविक इन्द्रपुर गाविस ८ बस्ने गयाप्रसाद कुर्मी, उनका छोरा बर्दिया सोरहा–८ का सावितराम कुर्मी तथा मालपोत कार्यालय बर्दियाका तत्कालीन मालपोत अधिकृतहरू मुक्तिबहादुर स्वाँर, शंकरप्रसाद भेटुवाल, नायब सुब्वा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धुव्रप्रसाद भण्डारीको मिलिमतोमा यो काम भएको हो ।
विभिन्न समयका मालपोतका प्रमुख, अधिकृत तथा कर्मचारीले भूमाफियासँगको मिलेमतोमा योजनाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गराएका हुन् । भूमाफियासँग साँठगाँठ राख्ने ती कर्मचारीले अकुत सम्पत्ति आर्जन गरेको आशंका गरिएको छ ।

भूमाफियाहरूले जग्गा हत्याउन २०४० सालबाट योजनाबद्ध प्रयास सुरु गरी २९ मंसिर २०५५ सम्म आइपुग्दा १ सय ४३ बिघा ९ कट्ठा सरकारी जग्गा पूर्ण रूपमा व्यक्तिको नाममा बनाउन सफल भएका थिए । सो जग्गा हालसम्म आइपुग्दा विभिन्न ६२ जनाको नाममा नामसारी भइसकेको पाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
१ सय ४३ बिघा जमिन भूमाफियाको कब्जामा गएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालय बर्दियासमेतले विस्तृत अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा जिल्ला प्रशासन र प्रहरीले समेत मालपोत कार्यालयका कर्मचारी र माफियाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा गएको ठहर गर्दै आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने तयारी गरेको बताइएको छ ।

६२ व्यक्तिका नाममा यसरी दर्ता भयो अर्बाैंको सरकारी जग्गा

मालपोत कार्यालयको रेकर्डअनुसार २०४० सालसम्म साविक बर्दिया जिल्ला सोरहा ८ ‘क’अन्तर्गत कित्ता नम्बर ४४२ मा १ सय ४३ बिघा ९ कट्ठा क्षेत्रफलमा सरकारी पर्ती जग्गा थियो । भूमाफियाहरू गयाप्रसाद कुर्मी, उनका छोरा सावितराम कुर्मी र मालपोत कर्मचारीको मिलेमतोमा सो जग्गा ३१ जेठ २०४० मा मालपोत कार्यालय बर्दियाको आदेशबाट कित्ता बदर गरी कित्ता नम्बर ६४० र ६४१ कायम भयो । कित्ता नम्बर ६४० अन्तर्गत ८४ बिघा १६ कट्ठा १२ धुर र कित्ता नम्बर ६४१ अन्तर्गत ५८ बिघा ११ कट्ठा ८ धुर पर्ती जग्गा कायम हुन पुग्यो । त्यसपछि भूमाफियाको योजनाअनुसार कित्ताकाट पछि मालपोतद्वारा माफियाकै आदेशअनुसार पर्ती जग्गाका रूपमा रहेको कित्ता नम्बर ६४१ लाई १३ असार २०५३ मा बदर गरी १०२४, १०२५ र १०२६ कित्ता कायम गरियो ।
त्यसपश्चात् १०२४ कित्ताको ३६ बिघा ६ कट्ठा १२ धुर जग्गा सावितराम कुर्मीका नाममा कायम गरियो । तत्पश्चात् कित्ता नम्बर १०२५ र १०२६ को जग्गा भने पर्ती नै रहन गएको भए पनि विभिन्न व्यक्तिका नाममा दर्ता भएको र बचेकामध्ये केही अन्य व्यक्तिले उपयोग गरिरहेका छन् । जब कि १३ पुस २०६४ मा नापी शाखाको फिल्डबुकमा कित्ता नम्बर ४४२ पर्ती जग्गा ऐलानी भनी निमित्त नापी अधिकृतले हस्ताक्षर गरेको समेत पाइएको छ ।
पर्ती जग्गा हत्याउने योजनाअनुसार २९ मंसिर २०५५ मा मालपोतले जमुनीका रूपमा रहेको कित्ता ६४० लाई समेत बदर गरी १०६४ देखि १०८० कायम ग¥यो । त्यसपछि सो जग्गा समेत क्रमशः विभिन्न व्यक्तिका नाममा कायम हुन पुगेको देखिन्छ ।

१४ कात्तिक २०५९ को पत्रले निमित्त नापी अधिकृतको हस्ताक्षर रहेको पत्रमा साविकको कित्ता नम्बर ३१७, ३१८ र हालको कित्ता नम्बर ४३५ र ४४२ भएको भनी २००४ को नक्सासँग भिडाएको र सो जग्गा सरकारी भएको स्पष्ट देखिन्छ ।
तत्पश्चात् ६ पुस २०६४ मा मालपोत कार्यालयका सुब्बा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धु्रवप्रसाद भण्डारीले स्थलगत सर्जमिन गरी सो जग्गा गयाप्रसाद कुर्मीका हकदारकै नाममा रहेको र अन्य कसैले दाबी नगरेको भन्दै सर्जमिन गरी मुचुल्का उठाएर कुर्मीलाई जग्गा हत्याउने योजनामा साथ दिएका थिए । त्यस्तै, २२ कात्तिक २०६४ मा मालपोत कार्यालयले नै योजनाबद्ध रूपमा दैनिक पत्रिकामा सूचना जारी गर्दा कित्ता ६४१ को १०२४ मा समेत कसैले दाबी नगरेको भन्दै सूचना टाँस गरेको थियो । सोही योजनाअनुसार २० पुस २०६४ मा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख शंकरप्रसाद भेटुवालको टिप्पणी आदेशले सो जग्गा सवितराम कुर्मीलगायत चार जनाको नाममा दर्ता गराइयो । यसरी कित्ताकाट हुँदै गएको सरकारी जग्गा हाल ६२ जनाको नाममा दर्ता हुन पुगेको छ ।नापी कार्यालयको रेकर्डअनुसार २०६४ सालको आगलागीबाट स्रेस्ता नष्ट भएको भन्दै नयाँ कित्ता नम्बर १८ कायम गरी विभिन्न नयाँ कित्ताकाट भएको देखिन्छ ।

राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्