Logo

वामदेव र नारायणकाजीलाई राष्ट्रियसभामा लाने तयारी



काठमाडौं, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ । राष्ट्रियसभामा अबको दुई महिनापछि सदस्य पद खाली हुने र त्यसमा नेकपाका तर्फबाट गौतम र श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी भएको हो ।

नेकपाका एक प्रभावशाली नेताका अनुसार सचिवालयका सबै सदस्यलाई सांसद बनाउने गरी ओलीले तयारी थालेका हुन् । बर्दियाबाट चुनाव हारेका गौतम र गोरखाबाट चुनाव हारेका श्रेष्ठ सांसद छैनन् । नेकपा सचिवालय सदस्यमध्ये गौतम र श्रेष्ठबाहेक सबैजना सांसद छन् । दुवैले राष्ट्रिय सभा सदस्य बन्ने इच्छा समेत देखाएका छन् ।

गौतमलाई राष्ट्रियसभा सदस्य बनाएर उपप्रधानमन्त्री बनाउने चर्चा समेत चलेको छ । उनलाई नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सांसद बन्न प्रस्ताव गरिसकेका छन् । तर, गौतमले संविधान संशोधनको शर्त राखेका छन् ।

प्रवक्ता श्रेष्ठ पनि राष्ट्रिय सभामा जान चाहिरहेका छन् । सचिवालयमा केपी शर्मा ओली, प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, ईश्वर पोखरेल र विष्णु पौडेल प्रतिनिधिसभा सदस्य छन् भने रामबहादुर थापा बादल राष्ट्रियसभा सदस्य हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot