Logo

सगरमाथाको चुचुरोमा चीनको आँखा



काठमाडौं, १ मंसिर । विश्वको अग्लो शिखरका रुपमा मान्यता पाएको सगरमाथाको चुचुरोको उचाई मापन भइरहेको छ । नापी विभागले यसै वर्षभित्र औपचारिक उचाई सार्वजनिक गर्ने उद्देश्यका साथ विभिन्न कोणबाट मापन गरिरहँदा चिनियाँ पक्षले पनि आफ्नो सहभागिताका लागि दबाब बढाइरहेको छ । उसले संयुक्त रुपमा मापन गरी संयुक्त रुपमा उचाई सार्वजनिक गर्ने प्रस्तावसहित दबाब दिएको हो ।

चिनियाँ दबाबमा केपी शर्मा ओली नेतृत्वको सरकार गलेको खुलासा भइसकेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको गत महिना भएको नेपाल भ्रमणका क्रममा संयुक्त विज्ञप्तिमा सगरमाथालाई नेपाल र चीनबीचको अनन्त सम्बन्धको प्रतिक भन्दै सगरमाथा (चिनियाँ भाषामा झुमुलाङ्गमा) को वैज्ञानिक अध्ययन संयुक्त रुपमा गरेर संयुक्त रुपमा घोषणा गर्ने भनिएको छ । सरकारले औपचारिक रुपमा सम्झौता गरेर सगरमाथाको चुचुरोसम्मको उचाई संयुक्त रुपमा नाप्ने र संयुक्त रुपमा उचाई घोषणा गर्ने विषय निकै अर्थपूर्ण छ ।

सगरमाथाको चुचुरोमा चीनतर्फबाट पनि आरोहरण हुनेगरेको छ । तर, नेपालले जारी गरेको आधिकारिक उचाई चिनियाँ दाबीभन्दा बढी भएकाले आरोहणकर्ताहरु नेपालतर्फबाट बढी आकर्षित हुनेगरेका छन् । उत्तरी मोहडाबाट भन्दा दक्षिणी मोहडामा आरोहणकर्ताको आकर्षण रहनु चीनका लागि चासोको विषय बनेको छ ।

विगतमा चीनले सगरमाथा दाबी गरेको थियो । राजा महेन्द्रका पालामा चुचुरोमा चीनले दाबी छाडेको थियो । तर, चिनियाँ पक्षले चुचुरोमा साझा जस्तै व्यवहार गर्ने गरेको छ । चुचुरोमा चिनियाँ पक्षबाट आरोहण गर्न छुट छ । अर्कोतर्फ, चीनले नेपालले आफ्नो हिमालको चुचुरो मापन गरिरहँदा चीन संलग्न हुन राजनीतिक तहसम्म दबाब सृजना गरिरहेको छ ।

पछिल्लो समय नेपाली पक्षबाट उचाई मापन भइरहँदा चीनले आफ्नो संलग्नता दाबी गरेको छ । नापी विभागले अन्तिम चरणमा पुर्याइसकेको सगरमाथाको उचाई मापगनको नापनक्शामा सहभागिता जनाउन दबाब दिनुमा वर्तमान सरकारले गरेको सम्झौता कारण बनेको छ । चिनियाँ पक्षसँग ओली सरकारले संयुक्त अध्ययन र संयुक्त रुपमा नापेर उचाई घोषणा गर्ने सम्झौता गरेको आधार बनाएर भूमी व्यवस्था मन्त्रालय देखि नापी विभागसम्म चिनियाँ पक्षको दबाब थेगिनसक्नु भइरहेको मन्त्रालय स्रोतले जानकारी दियो । मन्त्रालयका कर्मचारीले चिनियाँ दबाबलाई बेवास्ता गरिरहेको बुझिएको छ ।

नेपाल आफैले सगरमाथाको उचाई नाप्ने निर्णय लिएर चालेको कदममा चिनियाँ पक्षले चासो दिनुमा चुचुरोमा उसको संयुक्त हक रहेको सन्देश दिनु रहेको देखिन्छ । विगतमा पनि चीनले नेपालले आधिकारिकता दिएको ८८४८ मिटर उचाईलाई चीनले मान्यता दिएको थिएन ।

यता, नापी विभागले सगरमाथाको उचाई नाप्न १५ करोडभन्दा बढी रकम विनियोजन गरेर काम अगाडि बढाएको छ । स्वीस कम्पनिले दिएको प्राविधिक मेशिनले उचाई मापनमा सहयोगी भूमिका खेलिरहेको बुझिएको छ ।

चीनले आफ्नो तर्फबाट विगतमा उचाई सार्वजनिक गरेको थियो । यसपटक पनि उसले आफ्नै तरिकाले उचाई मापन गर्न खोजेको देखिन्छ । नेपाल र चीनबीच सगरमाथाको उचाईमा विवाद हुँदा चीनले चुचुरो साझा जसरी देखाउनेगरी आफ्नो गतिविधि बढाएको छ । यसमा वर्तमान सरकारले पनि साथ दिएकोमा नापी सम्बन्धित जानकार र कर्मचारीहरु असन्तुष्ट बनेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot