Logo

ठेकदार कि ठगदार ?



काठमाडौं, मंसिर ३ । नगरकोट र दोलखामा काम नगर्ने ठेकेदारको फोटोसहित सार्वजनिक रुपमा आक्रोस पोखेपछी जनताकै डरले ठेगदारले काम सुचारु गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक अनुसार मुलुकभर १ हजार ८ सय ४८ आयोजना ठेकदारकै कारण वर्षौंदेखि अलपत्र छन्। तिनको लागत एक खर्ब १८ अर्ब रुपैयाँभन्दा धेरै छ। कतिपय आयोजना रुग्ण अवस्थामा पुगिसकेका छन्।

सर्वसाधारणले तिनलाई ‘ठगदार’ का रूपमा चित्रण गर्न थालेका छन्। निर्माणकै क्रममा रजत जयन्ती मनाएको मेलम्ची खानेपानी आयोजना देशकै लज्जा हो। इमानदारपूर्वक काम भएको भए मेलम्चीको पानी काठमाडौंबासीले उपभोग गरेको केही वर्ष भइसक्थ्यो। तर, ठेकदारकै लफडाले अब यो झन् अन्योलग्रस्त बनेको छ।

कालिका कन्स्ट्रक्सनले विराटनगर महानगरपालिकामा एकीकृत सहरी वातावरणीय सुधार परियोजनाको ठेक्का लिएर अलपत्र पारेको छ।

रमण कन्स्ट्रक्सनले नारायणी नदीमा डिजाइन एन्ड बिल्ड मोडलका आधारमा पुल निर्माण गर्न २०६९ असार २५ गते ठेक्का लिएको थियो। सम्झौता भएको सात वर्ष पुग्दा पनि निर्माणले पूर्णता भएको छैन।

पुरानो बसपार्कमा अत्याधुनिक सपिङ कम्प्लेक्ससहितको बसपार्क निर्माणका लागि ठेकदारसँग सम्झौता भएको ५ वर्ष बित्न लाग्यो। २०७८ साउनमा बनाइसक्ने सम्झौता भएको उक्त संरचनामा अहिले जमिनमुनिको काम पनि पूरा भएको छैन।

वर्षौंदेखि अलपत्र कमलविनायक–नगरकोट सडक खण्ड ठेकदारले भत्काएर निर्माण नगरेको भन्दै स्थानीयले उक्त रुटमा चल्ने सार्वजनिक यातायातका साधनमा काम नगर्ने ठेकदारको तस्बिर टाँसेर विरोध जनाए।

भक्तपुर घटनापछि दोलखाको मुडे–चरिकोट सडकखण्डको स्तरोन्नतिमा बेवास्ता गर्ने ठेकदारको फोटो पनि सार्वजनिक सवारीसाधनमा टाँसिएको छ।

काठमाडौं उपत्यकामा विगत लामो समयदेखि सडक विस्तार कार्य अघि बढ्न सकेको छैन। सडक समयमै विस्तार नहुँदा उपत्यकाबासी कष्टकर जीवन बिताउन बाध्य छन्।

काठमाडौंका त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक तथा चाबहिल–साँखु सडक निर्माण अवधि समाप्त भइसकेको दुई वर्ष बितिसक्दा पनि बन्न सकेको छैन। त्रिपुरेश्वर–कलंकी–नागढुंगा र चाबहिल–साँखु सडक २०७४ सालमा सम्पन्न गर्ने गरी २०७२ सालमा ठेक्का लगाइएको थियो।

यस्तै जोरपाटी–सुन्दरीजल सडक, नख्खु खोला–भैंसेपाटी–बुङमती सडक, ढोलाहिटी–लेले–सरस्वतीकुण्ड, पेप्सीकोला–सल्लाघारी सडक, कर्मनासा–हरिसिद्धि–गोदावरी सडक, इमाडोल–गोदावरी खोला–लामाटार, लगनखेल–सातदोबाटो सडक निर्माण अवधि समाप्त भइसके पनि ठेकदारको लापरबाहीका कारण निर्माण हुने सकेका छैन। आजको अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot