Logo

६ वटा पक्की पुल अलपत्र



काठमाडाँ, ३ मंसिर । कर्णाली प्रदेशमा अन्तरजिल्ला जोड्ने पक्की पुल निर्माणमा ठेकदारले चरम लापरबाही गरेको पाइएको छ। ठेकदार आधा रकम लिएर सम्पर्कविहीन भएपछि ६ वटा पक्की पुल अलपत्र छन्।

कालिकोट, बाजुरा र हुम्ला जोड्ने कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुमा निर्माणाधीन पुल आठ वर्षदेखि अलपत्र छ। दुई पटक शिलान्यास गरिएको पुल २०६७ सालमा निर्माण थालिएको हो। कन्काई नेपाल प्रगति जेभीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। पुलको हालसम्म २५ प्रतिशत काम भएको छ।

निर्माण कम्पनीले ५० लाख रुपैयाँ पस्की लिएर बाँकी काम अधुरै छाडेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। पुल निर्माणमा ढिलाइ हुँदा कालिकोट, बाजुरा र हुम्ला जोड्ने कर्णाली करिडोरको काममा समस्या भएको छ।निर्माण कम्पनीका प्रतिनिधि दीपक मैनालीले एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने बताए।

पाँच वर्षसम्म पिलर मात्रै

सुर्खेत र बर्दिया जोड्ने निर्माणाधीन भुरीगाउँ–तेलपानी सडकको भेरी नदीको पुल पाँच वर्षदेखि अलत्रप छ। २०६९ देखि निर्माण थालिए पनि दुईवटा पिलर मात्रै ठडिएका छन्। २०६९ असार २९ मा पप्पु÷मल्ल जेभी कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको थियो। पुलको काम २०७२ असार मसान्तमा सक्नुपर्ने थियो। पुलका लागि निर्माण कम्पनीसँग १४ करोड २९ लाख ८९ हजारमा ठेक्का सम्झौता भएको थियो। ठेकदार कम्पनीले तीन करोड ८७ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ। तर ७५ प्रतिशत काम बाँकी छ। डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले निर्माण कम्पनीले तत्काल काम सुरु नगरे ठेक्का सम्झौता तोडिने बताए।

भुक्तानी लिन्छन्, काम गर्दैनन्

ठेकदार कम्पनीले सम्झौता रकमको आधाभन्दा बढी रकम भुक्तानी लिएर पनि काम अधुरै छाड्ने गरेका छन्। जुम्लाको दानसाँघु नजिक तिलाकर्णाली र जवा नदीको दोभानमा निर्माण हुनुपर्ने पक्की पुल आठ वर्षदेखि अलपत्र छ। २०६७ मा सम्झौता भएको यो पुल तीन वर्षभित्र निर्माण भइसक्नुपर्ने हो। पुल नबन्दा जुम्ला–डोल्पा आउजाउ गर्ने सवारीसाधनलाई समस्या छ।

भगवती पृथ्वीजेभी कम्पनी र ठेकदार तारासिंह कठायतले दुई करोड ८८ लाख रुपैयाँमा पुल निर्माण ठेक्का लिएका थिए। निर्माण कम्पनीले एक करोड ८८ लाख रुपैयाँ भुत्तानी लिइसकेको भौतिक पूर्वाधार विकास कार्यालय जुम्लाका सूचना अधिकारी लक्ष्मीप्रसाद पाण्डेले बताए।

पुलको डिजाइन फेल भएपछि निर्माण कार्य रोकिएको ठेकदार कठायतको दाबी छ।

जुम्ला र जाजरकोट जोड्ने कुडारीस्थित तिला नदीमा निर्माणाधीन पक्की पुल अलपत्र छ। पाँच वर्षअघि निर्माण थालिएको यो पुल तीन वर्षभित्र सक्नुपर्ने थियो। पुलमा हालसम्म पिलरका लागि खाडल मात्र खनिएका छन्। पुलको ठेक्का अन्जान हिराचन ९ट्रेन भेन्चर० कम्पनीले करिब चार करोडमा जिम्मा लिएको छ।

म्याद थप्दा पनि काम हुँदैन

बारम्बार म्याद थप्दा पनि जाजरकोट र रुकुमपश्चिम जोड्ने पक्की पुल आठ वर्षदेखि अलत्रप छ। मध्यपहाडी लोकमार्गमाअन्तर्गत भेरी नदीमा निर्माण थालिएको यो पुल दुई वर्षभित्र सक्ने लक्ष्य थियो। तर ठेकदारको लापरबाहीका कारण हालसम्म नदीको एकातर्फ पिलर ठड्याउने काम मात्र भएको छ। जाजरकोट र रुकुमपश्चिमको चौरजहारीस्थित भेरीमा निर्माण थालिएको यो पुलको पटकपटक म्याद थप गरिएको छ।

पुल निर्माणको जिम्मा वाईबी निर्माण कम्पनीले लिएको छ। ठेकदार सम्पर्कमा नआएका कारण पुलको काम अलपत्र परेको स्थानीय रामप्रसाद केसीले बताए। पछिल्लो पटक थपिएको म्याद पनि २०७५ असार २० गते सकिसकेको छ। दुई जिल्ला जोड्ने पुल नबन्दा दोब्बर लामो यात्रा गरेर वारपार गर्नुपर्ने बाध्यता स्थानीयलाई छ।

दुई वर्षसम्म पनि अधुरै

हुम्ला र मुगुलाई जोड्ने मुगुको छायानाथ रारा नगरपालिका र हुम्लाको चंखेली गाउँपालिका जोड्ने सडकमा निर्माण सुरु गरिएको पुलको काम अलपत्र छ। तत्कालीन जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयका प्राविधिकले दिएको सर्भेअनुसार पुल बनाउन थालिएको थियो।

निर्माण स्थलको माटो परीक्षण नगरी काम थालिएको र काम थालेपछि कडा चट्टान फेला पर्दा मेसिन भाँच्चिँदा काम रोकिएको पृथ्वी जेभी काठमाडौं दाबी गरेको छ। ठेकदार राजु कार्कीले निर्माणस्थलमा कडा चट्टान भेटिएपछि अर्को ठाउँमा प्राविधिकले लाइन नदिँदा काम अधुरै रहेको बताए। पुल नबनेपछि स्थानीयले तुइनमा आवतजावत गर्दै आएका छन्।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्

Screenshot