काठमाडौँ, ५ मंसिर । स्वर्गीय पत्रकार जेपी जोशीको अत्तरियास्थित चौकीडाँडास्थित घरमा पुग्दा पत्नी वसन्ती भैंसीलाई कुँडो पकाउँदै थिइन्। एक्कासि घरमा पुगेका पत्रकारले वसन्तीले कुँडो बनाउँदै गरेको तस्बिर लिन थाले। पत्रकार देख्नेबित्तिकै पतिको सम्झनाले उनलाई झस्कायो।
आँसु थाम्न खोज्दाखोज्दै पछ्यौरीले आँखा पुछिन् र सबैलाई नमस्कार फर्काइन्। एकछिनको भलाकुसारीपछि उनले गुनासो पोख्दै भनिन्, ‘खै सर १ १० वर्ष बितिसक्यो, अझै न्याय पाएकी छैन।’ तत्कालीन समयमा जनादेश साप्ताहिक र जनदिशा दैनिकमा धनगढी संवाददाताका रूपमा कार्यरत जोशी २०६५ असोज २२ गते अत्तरिया बजारबाटै बेपत्ता भएका थिए। उनको २०६५ मंसिर १३ गते घरनजिकैको चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समितिको जंगलमा कंकाल र हड्डी भेटिएको थियो।
कंकालसँगै मोबाइल तथा परिचयपत्र भेटिएपछि उनको पहिचान भएको थियो। पतिको मृत्युपछि छानबिनका लागि विभिन्न आयोग तथा छानबिन समितिसमेत बने पनि तिनले कुनै निष्कर्ष निकाल्न नसक्दा आफूले अहिलेसम्म न्याय पाउन नसकेको उनी बताउँछिन्। ‘मर्ने मान्छे त गइसके तर हामीले न्याय नपाउँदा पीडाको घाउ बल्झिरहन्छ,’ जेपी पत्नी वसन्तीले छोरी पूजाको टाउको मुसार्दै भनिन्, ‘न्याय नपाउँदा यी लालाबालाकै अनुहार हेरेर दिनरात काटिरहेकी छु।’ कुनै दिन आफूले न्याय अवश्यै पाउने आशा रहेको बताउँदै उनी भन्छिन्, ‘राज्यले अहिलेसम्म मेरो न्यायका लागि लडिदिएकै छैन।’
तत्कालीन समयमा जेपी पत्नी वसन्तीले घटनालगत्तै स्थानीय प्रहरीमा दुई जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। घटनामा आरोपित दुवैजनाले सफाइ पाएका छन्। घटनाको छानबिन गर्न तत्कालीन सरकारले जाँचबुझ ऐन, २०२८ अनुसार अधिवक्ता उमेश गौतमको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो। समितिले पत्रकार जोशीको हत्या भएको स्वीकार गरे पनि अहिलेसम्म हत्याराका सम्बन्धमा केही बोलेको छैन। समितिले २०६६ सालमा अध्ययन प्रतिवेदन सरकारलाई बुझाए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक नगरेका कारण आफूहरूलाई आशंका उब्जाएको जोशी परिवारको भनाइ छ। ‘सरकारी टोलीले नै छानबिन गरी अध्ययन प्रतिवेदन सरकारलाई बुझाए पनि अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक नहुँदा हामीलाई सरकारमाथि नै आशंका लाग्न थालेको छ,’ उनले भनिन्, ‘मेरो पतिको हत्या किन र कसले ग¥यो रु छानबिन समितिले के ल्यायो जान्न पाउनुपर्छ।’
आधा कट्ठा जमिनमा सानो पुरानो घरमै बस्दै आएकी वसन्तीका दुई छोरी छन्। जेठी छोरी पूजा कक्षा ९ र कान्छी छोरी गीता कक्षा ५ मा पढ्छिन्। आफू सानै छँदा बुबाको हत्या भए पनि बुबाको मधुर सम्झनाले झस्काइरहने गरेको पूजाले बताइन्। ‘म सानै थिएँ, बुबाको अलिअलि सम्झना आउँछ,’ पूजाले भनिन्। हरेक वर्ष बुबाको मुख हेर्ने दिनमा सँगैका साथीभाइले ‘ह्याप्पी फादर्स डे’ भनिरहँदा भने आफ्नो मुटु दुख्ने गरेको उनी बताउँछिन्। ‘बुबाको मुख हेर्ने दिनमा भने बुबाको अभाव बेस्सरी खड्किन्छ,’ पूजाले भनिन्, ‘बुबा नभएपछि अहिले हामीले अभावैअभावमा जीवन गुजारिरहेका छौं।’
पतिको हत्यापछि दुःखका दिन सुरु भएको बताउँदै वसन्तीले भनिन्, ‘जसोतसो भैंसी किनेर पालें, त्यसपछि दूध बेच्दै दैनिक घरखर्च चलाउन थालें।’ अहिले उनीसँग एक भैंसी र दुई बाख्रा छन्। भैंसीको दूध बेचेरै घरखर्च चलाउँदै आएको बताउँदै उनी भन्छिन्, ‘पत्रकार महासंघले छोरीहरूको पढाइका लागि भन्दै छात्रवृत्ति दिँदै आएकाले धेरै राहत महसुस भएको छ।’ उनकी दुवै छोरी स्थानीय एभरेस्ट एकेडेमीमा अध्ययन गर्दै आइरहेका छन्।
स्वर्गीय पत्रकार जोशीको पारिवारिक अवस्था बुझ्न गएका पत्रकार धर्मेन्द्र झाले आफूहरूले पनि पीडित परिवारलाई न्यायका लागि समय–समयमा विभिन्न बैठक तथा गोष्ठीहरूमा आवाज उठाउँदै आएको बताए। ‘हामी पत्रकार महासंघ तथा पत्रकार हकहितका क्षेत्रमा कार्यरत संघसंस्था न्याय दिलाउन लागिपरेका छौं,’ पत्रकार झाले भने, ‘तर सरकारले चासो नदेखाउँदा भने मुद्दा अगाडि बढ्न सकेको छैन।’
पत्रकार जेपी जोशीको हत्या घटना फौजदारी मुद्दाअन्तर्गत रहेकाले फौजदारी संहिताअनुसार काम भइरहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले बताए। उनले भने, ‘यो मुद्दा धेरै अगाडिको भएको र अहिलेसम्म प्रदेशको कानुन बनिनसकेकाले सरकारी वकिल कार्यालयबाटै हेरिँदै आएको छ।’ पत्रकार जोशीको मुद्दाका सम्बन्धमा संघ सरकारसँग प्रदेश सरकार पनि मिलेर अगाडि जाने उनले बताए। ‘यो मुद्दा संघ र प्रदेश दुवैको हो,’ उनले भने, ‘अब यो मुद्दा साझा भयो।’
नागरिक दैनिकबाट