Logo

जाँदाजाँदै महासेठले भने : मन्त्रालयले धेरै रेकर्ड तोडेको छ



काठमाडौं, ५ मंसिर । निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले २० महिना आफूले मन्त्रीको हैसियतमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै मन्त्रालयले धेरै रेकर्ड तोडेको दाबी गरे ।

विगतमा एक वर्षमा ७२ वटाभन्दा बढी पक्की पुल बन्न नसकेकामा २०७४/७५ मा ८६ वटा बनेको जानकारी दिँदै उनले गत २०७५/७६ को असार १८ गतेसम्ममा २४३ वटा पुल बनिसकेको जानकारी दिए ।

महासेठले यस वर्ष ३०० वटा पुल निर्माणको लक्ष्य रहेको बताए । उनले मन्त्री नेम्वाङको कार्यकालमा आफूले बनाएको रेकर्ड तोड्ने विश्वास व्यक्त गरे । पहिले एक वर्षमा ६०० किलोमिटर मात्रै कालोपत्र हुने गरेकामा आव २०७४/७५ मा ९४५ किलोमिटर बनाएको र अहिले ९८८ किलोमिटर बनाउने योजना रहेकामा असारसम्ममा एक हजार किलोमिटर कालोपत्र भइसकेको बताए ।

उनले रेल्वे फागुन ७ गते सञ्चालन गर्ने सोच बनाइसकेको जानकारी गराउँदै नयाँ मन्त्रीले त्यो काम अघि बढाउने विश्वास व्यक्त गरे । पानीजहाजमा पनि नयाँ फड्को मार्ने क्रममा रहेको उनले बताए । यो वर्ष काठमाडौँ उपत्यकालाई केन्द्रित गरेर कार्यक्रम अघि बढाएको जानकारी उनले दिए ।



प्रतिक्रिया दिनुहोस्