Logo

नेकपाका शीर्ष नेताहरु उपनिर्वाचनको प्रचारप्रसारमा व्यस्त



काठमाडौँ, ७ मङ्सिर : उपनिर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्षनेता चुनावी दौडमा व्यस्त भएका छन् ।

यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि नेताहरु निर्वाचन हुने जिल्लामा जानेक्रम बढेको छ । चुनावीसभालाई सम्बोधन गर्न आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले बागलुङ पुगेका छन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यही मङ्सिर ११ गते कास्की–२ को अमरसिंह चोकमा हुने आमसभामा सम्बोधनका लागि जाने कार्यक्रम छ ।

नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका बागलुङ–२ (ख) खिमविक्रम शाहीको पक्षमा प्रचारप्रसार गर्न उनीहरु बागलुङ पुगेका छन् ।

बागलुङपछि अध्यक्ष प्रचण्ड र नेता सुवास नेम्वाङ मङ्सिर ११ गते भक्तपुरको सभामा सम्बोधनका लागि जानुहुने नेकपाका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । भक्तपुर–१ (क)मा नेकपाका तर्फ प्रदेशसभा सदस्यका लागि डिपी ढकाल उम्मेदवार बनेका छन् ।

उपनिर्वाचनको चुनावीसभा सम्बोधन गर्न अध्यक्ष प्रचण्ड पोखरा र दाङ पुगिसक्नुभएको छ । २०७४ सालमा भएको निर्वाचनमा वामगठबन्धनबाट निर्वाचित भएका र अन्य क्षेत्रमा विजय हासिल गर्न शीर्षनेता उपनिर्वाचन हुने क्षेत्रमा पुगेका छन् ।

नेकपाले उपनिर्वाचनमा सहजै जित्ने बताउँदै कार्यालय सचिव रिजालले स्थानीय तहको प्रमुख र उपप्रमुखको निर्वाचन हुने क्षेत्रमा पनि नेताहरु जाने तयारी भइरहेको बताए ।

भक्तपुरमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका साथै सचिवालय सदस्य वामदेव गौतमले चुनावीसभालाई सम्बोधन गरेका छन् ।

नेकपाले निर्वाचनमा विजय हासिल गर्न स्थानीय तहमा पनि प्रचारप्रसारलाई तीव्रता दिएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ बाट विद्या भट्टराई उम्मेदवार भएका छन् । रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको उक्त क्षेत्रमा पार्टीले उनकी धर्मपत्नी भट्टराईलाई उम्मेदवार बनाएको हो ।

यसैगरी दाङ–३ (ख)मा प्रदेशसभा सदस्यका लागि कमला वली उम्मेदवार भएका छन् । निर्वाचन आयोगले यही मङ्सिर १४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म रिक्त रहेको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको निर्वाचन गर्ने भएको छ ।

स्थानीय तहमा सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फागुनन्द गाउँपालिकाको अध्यक्ष, सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र हुम्लाको खार्पुथान गाउँपालिकाको उपाध्यक्ष र अन्य वडाअध्यक्ष गरी ४६ स्थानमा उपनिर्वाचन हुँदैछ । रासस



प्रतिक्रिया दिनुहोस्