Logo

वाम एकताले राष्ट्रियरूपमै एकताको सन्देश दिएको : अध्यक्ष दाहाल



गलकोट, ७ मङ्सिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकताले राष्ट्रियरूपमै एकताको सन्देश दिएको बताए ।

नेकपा र राष्ट्रिय जनमोर्चाले आज बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा उपनिर्वाचनका लागि आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनावी मैदानमा जानुले मुलुकभर एकताको सन्देश गएको बताए ।

“नेपालको विकासका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प छैन”, अध्यक्ष दाहालले भने, “अब कम्युनिष्टहरु फुटेर होइन, जुटेर अगाडि बढेको सन्देश वाम गठबन्धनले दिएको छ ।”

“एकताको प्रतीकका रुपमा बागलुङको वाम गठबन्धनलाई हेर्न सकिन्छ”, भन्दै उनले केन्द्रले दिएको जिम्मेवारीअनुसार नेकपाले राजमोलाई सर्मथन गरी अत्यधिक मतले साझा उम्मेदवार खिमविक्रम शाहीलाई विजयी गराउन आग्रह गरे । उपस्थित नेता–कार्यकर्ताकको उत्साहलाई देखेर आजै निर्वाचन जितेजस्तै भएको महसुस भएको भन्दै उनले खुशी व्यक्त गरे ।

फरक प्रसङ्गमा उनले अहिले भारतले मिचेको भूमि नेपालकै भएको भन्दै भ्रममा नपर्न जनतालाई आग्रह गर्दै सरकारले सीमा समस्या समाधान गर्ने बताए । अध्यक्ष दाहालले विकासमा पछाडि परेको बागलुङको पश्चिम क्षेत्रमा विकासको लहर आउने भन्दै मध्यपहाडी लोकमार्गको सबै खण्ड कालोपत्र, सालझण्डी–ढोरपाटन सडकले पूर्णता र उत्तरगङ्गा जलाशय जलविद्युत आयोजनाले गति लिने बताए । दाहालले प्रधानमन्त्री तथा ऊर्जामन्त्रीसँग तत्काल छलफल गरी निष्कर्ष निकाल्ने बताए ।

अध्यक्ष दाहालले बुर्तिवाङ लाम्मेला सडक कालोपत्र गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने बताए । बागलुङ क्षेत्र नं २ को (ख) बाट निर्वाचित प्रदेश सांसद टेकबहादुर घर्तीको निधनपछि यस क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यसअघिको निर्वाचनमा तत्कालीन (एमाले), (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले संयुक्त उम्मेदवारका रुपमा घर्तीलाई विजयी गराएको थियो । अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट शाहीले उम्मेदवारी दिएका छन् । संयुक्तसभामा नेकपाका महासचिव विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेललगायतको उपस्थिति थियो । रासस



प्रतिक्रिया दिनुहोस्