Logo

‘पदमा पुर्‍याउने भर्‍याङ मात्र भयौं’



काठमाडौँ, ९ मंसिर । सशस्त्र द्वन्द्वका बेला गोली लागेको घाउबाट क्यान्सर भएपछि धर्मबहादुर वली एक वर्षदेखि थलिएका छन् । तत्कालीन माओवादीले मनाउने गरेको ‘जनमुक्ति सेना दिवस’ परेको दिन आइतबार उनी दिल्ली जाने दिन गन्दै थिए । काठमाडौंको नर्भिक र नेपाल क्यान्सर अस्पतालमा एक वर्षको बसाइपछि उनको उपचार भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा सरेको छ । ‘क्यान्सरका कारण ३५ लाख रुपैयाँ खर्च भइसकेको छ । अझै कति पैसा जुटाउनुपर्ने हो, थाहा छैन,’ वलीले भने ।

सशस्त्र द्वन्द्वका घाइते धर्मबहादुर वली र तुलाराम घर्ती । वली ०५८ सालमा तत्कालीन नेकपा माओवादीमा लाग्दा १७ वर्षका मात्र थिए । उनी लामो समय पार्टी र सैन्य विभागमा सक्रिय बने । लड्दा मरिन्छ भनेर उनी भागेनन् । ०५८ मंसिर ८ गते घोराहीस्थित नेपाली सेनाको ब्यारेक आक्रमणमा सामेल भएका उनी त्यसपछि रोल्पाको रातामाटा रिपिटर टावर, रुकुमको चौरजहारीस्थित कृषि विकास बैंक, अछामको मंगलसेन, दाङको लमही प्रहरी चौकी, रोल्पाको गाम, जेलबाङ, फुन्टीबाङलगायतका लडाइँमा गए । सन्धिखर्क आक्रमणका क्रममा उनको बायाँखुट्टामा गोली लाग्यो । त्यही गोलीले गुप्तांगछेउमा बनाएको घाउले उनलाई दिनुसम्मको दुस्ख दिएको छ । सन्धिखर्क आक्रमणका बेला उनी तत्कालीन ‘जनमुक्ति सेनाको मंगलसेन फस्ट बटालियन हेडक्वार्टर कम्पनीको सहायक कमान्डर’ थिए ।

रुकुमको सानीभेरीका वलीलाई गाउँपालिका कार्यालयले डेढ लाख रुपैयाँ उपचार सहयोग गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाशको स्मृतिमा एक लाख दिएका छन् । बाँकी रकम ऋण र सहयोगबाट जुटाउनुपरेको छ । सरकारीस्तरबाट उपचार सहयोग केही भएको छैन । उपचारका लागि भाइ नारायणले फेसबुक अभियान चलाएका थिए । रुकुमको त्रिवेणी गाउँपालिका–५, खाराका ५८ वर्षीय तुलाराम घर्ती ०७५ साउनदेखि घरभित्र र बाहिरबाहेक अरू केही गर्न सक्ने अवस्थामा छैनन् । बमको छर्रा लागेर प्यारालाइसिस भएका उनको बोलीसमेत प्रस्ट छैन । परिवार उनको रेखदेखमै व्यस्त छ । दुनै आक्रमणका क्रममा उनलाई बमको छर्रा लागेको थियो । घर्ती तत्कालीन ‘जनमुक्ति सेनाको प्लाटुनको सेक्सन कमान्डर’ थिए । घर्तीकी पत्नी रीताका अनुसार डेढ वर्षदेखि उनको काठमाडौंमा उपचार भइरहेको छ । उनलाई उपचारका बेला काठमाडौं लगिन्छ भने अरू बेला घर ल्याइन्छ । ‘अहिले भर्खरकै कुरा सम्झन सक्नुहुन्न,’ रीताले भनिन् ।

वली र घर्तीजस्तै सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका करिब दुई दर्जन पूर्वलडाकुको अवस्था असामान्य छ । उनीहरू उपचारको खोजीमा छन् । केही लडाकु खाडीतिर वैदेशिक रोजगारीमा छन् । एउटै लक्ष्य राखेर लडेका केही व्यक्ति भने उच्च पदमा पुगेका छन् । केही नेपाली सेनामा समायोजित भई संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा छन् । ‘पार्टी र सरकारले मलाई अलि अलि सहयोग गरेको छ,’ वलीले भने, ‘तर हामी अर्कै व्यवस्थाका लागि लडेका थियौं, त्यो हासिल हुन सकेन ।’

जनमुक्ति सेनामा लामो समय सामेल रामबहादुर नेपाली भारतमा मजदुरी गर्दै परिवार पाल्छन् । ‘युद्ध कसैका लागि पदमा पुग्ने भर्‍याङ भयो, कसैका लागि पीडाको भारी,’ उनले भने । तत्कालीन माओवादीले ०५८ असोजमा आफ्ना छापामारलाई संगठित गर्दै ‘जनमुक्ति सेना, नेपाल’ घोषणा गरेको थियो । उसले ०५८ मंसिर ८ गते पहिलोपटक नेपाली सेनाको घोराही ब्यारेकमाथि सफल आक्रमण गरेको दाबी गर्दै जनमुक्ति दिवस मनाउने गरेको थियो । शान्ति प्रक्रियामा आएपछि १४ सय ४४ पूर्वलडाकुलाई नेपाली सेनामा समायोजन गरिएको थियो । समायोजनका लागि १९ हजार ६ सय लडाकुलाई योग्य मानिएको थियो । तत्कालीन माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ०६८ को अन्त्यतिर माओवादी लडाकुको समायोजन सकिएको थियो । त्यसमा नपरेका लडाकुहरूले आफूलाई बेवास्ता गरिएको गुनासो गर्ने गरेका छन् ।

पूर्वकमान्डर नन्दबहादुर पुन उपराष्ट्रपति छन् भने वर्षमान पुन ऊर्जामन्त्री । अर्का कमान्डर चक्रपाणि खनाल निवर्तमान कृषिमन्त्री हुन् भने जनार्दन शर्मा पूर्वमन्त्री । नेकपा स्थायी समिति सदस्यसमेत रहेका पूर्वकमान्डर जनार्दन शर्माले फेसबुकमा भनेका छन्, ‘जनमुक्ति सेनाको त्याग र बलिदानबिना न संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थियो, न जनताका अधिकार सुनिश्चित हुने सम्भावना थियो ।’
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्