Logo

गायिका भएरै श्रीमानले विवाह गर्नुभयो-रिता केसी, गायिका



काठमाडौं, ९ मंसिर । लोक, आधुनिक, पप र चलचित्र गरी सबै प्रकारका गीतमा दख्खल राख्छिन् रीता केसी । एक दशकभन्दा बढी समयदेखि नेपाली संगीत यात्रामा क्रियाशील रिताले हालसम्म तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । उदीयमान गायिकाको छवि बनाउन सफल रितासँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंश ः
० तपाईं संगीत क्षेत्रमा लाग्नुभएको कति भयो ?
– म व्यवसायिक रूपमा लागेको एघार वर्ष पुग्यो ।
० तपाईंको पढाइ पनि संगीत नै हो ?
– अहिले म संगीतमै मास्टर्स गर्दैछु । मेरो इच्छा त संगीतमै पीएचडी गर्ने छ । अब हेरौं समयले कत्तिको साथ दिन्छ ।
० नेपालमा संगीतमा पीएचडी गर्ने छन् ?
– थोरै हुनुहुन्छ ।
० किन थोरै ?
– संगीत क्षेत्र अरु विधाभन्दा अप्ठ्यारो पनि छ । पहिला त शोधपत्र पाउन पनि गाह्रो हुन्थ्यो । त्यसैले पनि कम भएका हुन् ।
० अहिलेसम्म कति गीतमा स्वर दिनुभयो ?
– मैले आधुनिक, लोक, पप र चलचित्रका गरेर झन्डै तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छु ।
० आफ्नै एल्बम निकाल्नुभएको छैन ?
– मेरो सात वर्ष अगाडि एउटा मात्र ‘मन’ एल्बम निस्किएको थियो । त्यसको अलावा विविध कलेक्सन, लोक र चलचित्रका गीतको एल्बममा मेरो स्वर समेटिएको छ ।
० तपाईंलाई आफ्नै गीतमा सबैभन्दा बढी मन पर्ने कुन हो ?
– आफ्ना सिर्जनाहरू सबै मन पर्ने खालका छन् । त्यसभित्र पनि अभैm मन परेको ‘भन के के गर्नुपर्छ, तिम्रो साथ पाउनलाई’ बोलको गीत हो । यो सीआरबीटी पीआरबीटीमा एकदमै हिट भएको थियो । जसले अवार्ड पनि दिलायो । त्यसकारण मलाई त्यो गीतको सधैं नाम लिन मन लाग्छ ।
० मोडलिङ पनि गर्नुहुन्छ ?
– मोडलिङको अफर त धेरै नै आयो । तर मैले गायन क्षेत्रलाई नै आफ्नो करिअर बनाउँ भनेर गायनलाई प्राथमिकता दिएकी हुँ । वर्षमा एकपटक आफ्नै तीज गीतमा मात्रै खेल्ने गर्छु । अरु गीतमा मोडलिङ गरेकी छैन ।
० कला क्षेत्रमा पढाइको आवश्यकता पर्छ ?
– जुनसुकै क्षेत्रमा पनि पढाइको ठूलो आवश्यकता पर्छ । गीतसंगीत जस्तो सिर्जनशील काममा त झन् नहुने कुरै छैन । गायन भनेको सिर्जना हो । पढेर, बुझेर गर्नु धेरै राम्रो कुरा हो । जे काम गर्दा पनि हामीले त्यसको गहिरो अध्ययन गरेर गर्नुपर्छ ।
० स्वर राम्रो हुन सिक्नुपर्छ कि जन्मसिद्ध लिएर आउनुपर्छ ?
– पहिलो कुरा, स्वर भनेको ‘गड गिफ्ट’ नै हो । लिएर आएको स्वरलाई अझ माझ्न विभिन्न टेक्निक प्रयोग गरेर सिक्ने हो । जसलाई त्रिविको पाठ्यक्रममै राखिएको छ । संगीत विषयको पढाइ कक्षा ११ देखि डिग्री, पीएचडीसम्मको पनि नेपालमै व्यवस्था भइसकेको छ । पढाइ आवश्यक नभएको भए कोर्समा राखिँदैनथियो । त्यसैले पढाइको ठूलो आवश्यकता छ ।
० संगीत नपढेका गायक, गायिका हुन सक्छन् कि सक्दैनन् ?
– हुन्छन् । गायकको स्वर ‘गड गिफ्टेड’ हुन्छ । सिकाइले त्यसलाई माझ्ने हो । सिकाइलाई गहिराइमा पु¥याउन पढाइको आवश्यकता पर्छ । नपढेका पनि कलाकार हुन्छन् । कसैले जन्मसिद्ध लिएरै आएका हुन्छन् । त्यसमाथि सम्बन्धित विषयमा अध्ययन पनि भयो भने ‘सुनमा सुगन्ध’ भनेजस्तो हुन्छ ।
० पढाइ जहाँ पनि आवश्यक छ भन्नुभएको हो ?
– हो, हामीले जुन पेसा गरे पनि त्यसलाई व्यावसायिक र दीर्घकालीन बनाउन पढाइ र सिकाइको ठूलो महत्व छ । छोटो समयमा चर्चा कमाउन त्यतिकै पनि आउन सक्छन् । सम्बन्धित विषयको पढाइ र सिकाइबाट जति मीठास र निख्खरपन आउनुपर्ने हो, त्यो नहुन सक्छ ।
० पारिवारिक सहयोग पाउनुभएको छ ?
– मैले मेरो पेसाप्रति पूर्ण रूपमा पारिवारिक सहयोग पाएकी छु । परिवारको सहयोग र हौसलाबाटै आज गीतसंगीतको फाँटमा निर्धक्क भएर लाग्ने मौका पाएकी छु ।
० श्रीमान्ले गीत नगाउनु भन्नुहुन्न ?
– गायिका भएरै विवाह गर्नुभएको हो । त्यसैले उहाँको मलाई ठूलो सहयोग र समर्थन छ । उहाँ पेसालाई सम्मान गर्ने मानिस हो । कला क्षेत्र भनेको एउटा सम्मानित पेसा हो ।
० गायनभन्दा अन्य पेसातिर सम्मानित जस्तो लागेन ?
– मलाई संगीत पेसा नै सबैभन्दा उत्कृष्ट लाग्छ । मेरो परिवारमा पनि कति डाक्टर, ठूला अफिसर पनि हुनुहुन्छ । उहाँहरूसँग भेट हुँदा राम्रो इज्जत गर्नुहुन्छ । समाजमा जाँदा पनि कलाकारतिर बढी आकर्षित हुन्छन् । त्यसै मलाई गायिका बनेकोमा गौरव छ । गायिका आइन् भनेर आफ्नो घरमा लाने, सम्मान गर्ने गर्दछन् । त्यो देखेर म संगीतमा लागेर राम्रो काम गरेँ भन्ने लाग्छ ।
० महिला कलाकारलाई पेसाभित्र शोषण हुन्छ भनिन्छ नि ?
– मेरो अनुभवमा त्यस्तै भएको छैन । आपूm ‘राम्रो त जगतै राम्रो’ भन्छन् । आपूm राम्रो भयो भने जुन पेसामा पनि इज्जत, सम्मान पाइन्छ । मलाई कहिल्यै पनि गायिका भएकै कारण कसैबाट हेपिएको महसुस भएन । आपूm कमजोर भयो भने जुन पेसामा पनि महिलाई गाह्रो छ । कलाकार मात्र होइन सबै क्षेत्रमा गाह्रो छ ।
० संगीतक्षेत्रमा लाग्ने प्रेरणा कोबाट पाउनुभयो ?
– दिनको लक्षण बिहानीले खुट्ट्याउँछ भनेभैंm, म पनि सानैदेखि गीत, संगीतप्रति आकर्षित हुने । खानाभन्दा पनि गीत सुन्न रुचाउने देखेर मेरो परिवारबाटै यो क्षेत्रमा आउने हौसला पाएकी हुँ । स्कुलमा गाउँथे । म सिक्नुभन्दा पहिलादेखि गीत गाउन अघिसरिहाल्ने मान्छे हो । मेरो परिवार र गुरुहरू नै प्रेरणाको स्रोत हुनुहुन्छ ।
० मास्टर्स डिग्रीपछि के गर्नुहुन्छ ?
– संगीतमै पीएचडी गर्ने इच्छा छ, त्यसलाई आफ्नो स्वास्थ्य र पेसाले कहाँसम्म साथ दिन्छ हेरौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot