Logo

नयाँ बसपार्कमा मदिरा निषेध



काठमाडौँ, १० मंसिर। राजधानीको गोँगबुस्थित नयाँ बसपार्क परिसरलाई मदिरा र धूमपान निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिरा बेचबिखन र पिउन पूर्णरूप निषेध गरिएको छ भने धूमपान निश्चित स्थानबाहेक जथाभावी खान र चुरोटका ठुटा फाल्न रोक लगाइएको छ । प्रहरी प्रभागका बसपार्कस्थित प्रमुख सन्तोष दाहालले नमुना बसपार्क बनाउने प्रयासका लागि यी कामहरू भइरहेको बताए। उनले भने, बसपार्कभित्र चोरी, डकैती, पकेटमारी र अश्लील क्रियाकलाप पनि पूर्णरूपमा नियन्त्रण गरिएको छ । यो काममा सबैको साथ छ ।’’ सुर्तीजन्य पदार्थ पानगुट्खा, पानसुपारी, खैनी र चुरोट खाएर यत्रतत्र थुक्ने, फोहोर फाल्ने कार्य रोक्न फोहोर फ्याक्ने भाँडोको व्यवस्था गरिएको छ । तर पनि प्रयोगमा थप कडाइ नगर्दा बसपार्कको सडक भित्ता, गमला र भवनको पर्खाल फोहोर हुने गरेका छन् ।

बसपार्क व्यवस्थापनको ठेक्का लिएका लोत्से बहुउद्देश्यीय प्रालिका प्रमुख इन्जिनियर दीपक कुँवरले बसपार्क व्यापार व्यवसायको हबभन्दा सर्वसाधारण यात्रुको सुविधाका लागि हुुनुपर्ने भावनामा काम भइरहेको बताए। बसपार्कलाई हरियाली वातावरण मैत्री उद्यानहरू, सार्वजनिक शौचालयको सुविधायुक्त र प्रदेश अनुसार टिकट काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ । लोत्सेका प्रमुख इन्जिनियर कुँवरका अनुसार, केही महिनामा नै यी सम्पूर्ण निर्माण कार्यहरू सम्पन्न हुनेछन् । सवारी चालक, सहचालक, सञ्चालक, काउन्टरमा कार्यरत कर्मचारीको स्वास्थ्य उपचार र नियमित स्वास्थ्य जाँचका लागि चिकित्सकसहितको क्लिनिक र औषधि पसल सञ्चालनको तयारी अन्तिम चरणमा
पुगेको छ ।

सफाइको व्यवस्था हुँदै बस पार्किङमा यात्रु बोकेर आएका वारी साधनहरू सरसफाइ र प्राविधिक परीक्षण हुने छ । पार्किङस्थानबाट सरसफाइ तथा प्राविधिक परीक्षण गरिआएका सवारीहरू मात्र बसपार्क प्रवेश गर्न पाउने छन् । त्यस क्रममा सवारी चालकको समेत स्वास्थ्य परीक्षण गरी गन्तव्यमा निष्काशन अनुमति प्रदान गरिने छ । नयाँ बसपार्कबाट हाल दैनिक एक हजार बसहरू आवात जावत हुने गरेका छन् । यसका लागि पनि अलग्गै पार्किङस्थल अनिवार्य भएको छ । लोत्सेले यस विषयमा काठमाडौँ महानगरपालिकासँग छलफल भइरहेको बताएको छ । नयाँ बसपार्क लोत्सेले महानगरपालिकासँग २८ वर्षका लागि भाडामा लिएको हो । तर लोत्सेको नमुना बसपार्क बनाउने अभियानप्रति यातायात व्यवसायी भने अझै विश्वस्त हुन सकेका छैनन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्