काठमाडौं, मंसिर १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतमसमेत ८ जनाविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ।
शाखा अधिकृत गौतमसमेतले २०७१ असोजदेखि २०७२ असारसम्म कर्मचारीकै नक्कली नागरिकता बनाएर ३३ करोड ९३ लाख रुपैयाँ निकाली बैंकलाई हानी नोक्सानी पुराएपछि भ्रष्टाचार आरोपमा मुद्दा दर्ता भएको हो।
उजुरी अनुसन्धान गर्दा बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँले दायित्व बहन गर्न नसकेको, शाखा अधिकृत केदारप्रसाद गौतमले नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको भेटिएको थियो।
मिलेमतोमा भुक्तानी लिने, नक्कली नाम तेजबहादुर थापा खडा गरी त्यसै नामबाट नागरिकता, राहदानी बनाई विदेश फरार हुने योजना अनुरूप भारत गई बसेका थिए।
त्यसैगरी सम्झना पोखरेल गौतमले आफ्ना पति तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट अनियमित तबरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको, खाता खोल्ने र बन्द गर्ने काममा प्रत्यक्ष संलग्न रहेको, केदारप्रसाद गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले रकम लुकाउन सघाएको अख्तियारको आरोप छ।नागरिक दैनिकबाट