Logo

मधेशका पृथकतावादी र कट्टरपन्थीलाई ओलीले साइजमा पुर्याए



काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली खरो बोल्छन् । उनले कुनैबेला मधेशका आन्दोलनकारीविरुद्ध कडा अभिव्यक्ति दिन्थे । मधेश आन्दोलनको उपहास गर्ने गरी अभिव्यक्ति पनि दिए । ओलीलाई मधेशका आन्दोलनकारीले प्रमुख शत्रुकै रुपमा देखे ।

ओलीले पछिल्लो समय धेरैलाई आश्चर्यमा पारेका छन् । उनी प्रधानमन्त्री भएपछि पृथकतवादी मानिएका सी के राउतलाई सहमतिमा ल्याए । राउतसँग वार्ता गरी सरकारसँग सम्झौता गर्ने अवस्था बनाए । राउतसँग वार्ता र सम्झौता गर्दा ओलीको नेकपाभित्रबाटै आलोचना भयो । सम्झौताका केही बुँदाप्रति सत्तापक्ष र प्रतिपक्षले आपत्ती जनाए ।

ओलीको रणनीतिले राउतलाई सुरक्षित अवतरणको अवस्थामा पुर्यायो । अहिले राउत रङ्गभेदविरुद्ध भन्दै नयाँ राजनीतिक एजेन्डाका साथ प्रस्तुत भएका छन् । राउतलाई राष्ट्रियसभा हुँदै सरकारमा ल्याउने पहल ओलीबाट भइरहेको बुझिएको छ ।

ओलीले विगतमा मधेश केन्द्रित दलका नेता उपेन्द्र यादवप्रति पनि कडा नीति नलिएका होइनन् । तर, यादवलाई सरकारमा ल्याएर साइजमा राखे । संविधान संशोधनमा सम्झौता गरेर सत्तामा त ल्याए तर संशोधनतर्फ पाइला सारेनन् । अहिले संविधान संशोधन गर्ने जिम्ममा उपेन्द्र यादवलाई नै सुम्पेर कानुन मन्त्रालयको जिम्मेवारी दिए ।

राजेन्द्र महतोप्रति पनि ओली कडा छन् । राजपा अध्यक्ष मण्डलका संयोजक महतोले ओलीले बालकोटमा खान बोलाउँदा ओलीको खाना मीठो बोली तीतो भन्थे । ओली खरो बोल्थे र उग्र नबन्न चेतावनी दिन्थे । ओलीले राजपाका नेताहरुलाई पनि साइजमा पुर्याएका छन् । अध्यक्ष मण्डलका केही नेताहरुलाई सरकारमा ल्याउन पहल थालिसकेका छन् । कतिपयले सत्तामा पुग्न खुट्टा उचालिसके । त्यसैले उनीहरुको ओलीप्रति लचिलो बोली निस्कन थालेको छ ।
राजपाका नेता महन्थ ठाकुरलाई सभामुख दिएर नयाँ परिस्थिति निर्माण गर्नेतर्फ पनि ओलीले रणनीति बनाइरहेको बुझिएको छ । ठाकुरलाई सभामुख दिएर मनाउने ओलीको रणनीति बन्दै गरेको छ ।

ओलीले हृदयश त्रिपाठी र रामेश्वर राय यादवलाई सूर्य चिन्हमा चुनाव लड्ने अवस्था निर्माण गरेर धेरैलाई आश्चर्यमा पारेका थिए । त्रिपाठी र यादव मधेशको मामलामा कडा विचार राख्दै आएकामा पर्थे । उनीहरुले मधेशको माग सम्बोधन नगरे देश विभाजन हुनसक्ने सम्मको अभिवयक्ति दिन्थे । अहिले ओलीले उग्र विचार राख्ने देखि पृथकतावादी बनिसकेकालाई साइजमा ल्याइपुर्याएका छन् । ओलीले यो कदम चालेर जोखिम पनि मोलेका छन् । सत्ता देखाएर उग्र विचारलाई मथ्थर पारिदिने उनको रणनीति कतिसम्म सफल हुन्छ हेर्न बाँकी नै छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot