काठमाडौं, १० मंसिर । पेटमा अत्याधिक दुखाईका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया भएको छ । अस्पताल भर्ना भएपछि एपेन्डिसाइटिस भएको खुलेपछि तत्काल शल्यक्रिया गरिएको थियो ।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा अरुण सायमीले जानकारी दिए।
‘शल्यक्रिया सफल भएको छ,’ उनले भने, ‘सानो शल्यक्रिया हो। अब स्वास्थ्यका अरु विवरण हेरेर अस्पतालमा कति समय बस्ने भन्ने निर्धारण हुन्छ।’
ओलीको एपेन्डिसाइटिसको अपरेसन १२ः४५ बजे सफलतापूर्वक सम्पन्न भएको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन १२:४५ बजे सफलतापूर्वक सम्पन्न भएको छ । यो सुखद समाचार सबैको जानकारीका लागि अनुरोध गर्दछु ।
— Surya Thapa (@ThapajiSurya) November 26, 2019