Logo

प्रधानमन्त्री ओलीको बहुअङ्गमा समस्या आएपछि जोखिम बढ्यो



काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरका विभिन्न अङ्गमा समस्या देखिएको छ । अचानक अस्पताल भर्ना गरी एपेन्डिसाइटिसको सफल शल्यक्रियापछि आइसियूमा राखिएका ओलीको एकैपटक धेरै अङ्गमा समस्या आएपछि भेन्टिलेटरमा राखिएको छ ।

महाराजगञ्जस्थित मनमोहन काडिैयोभास्कुलर ट्रान्स्प्लान्ट सेन्टरको भेन्टिलेटरमा राखिएका ओलीको शरीरको विभिन्न भागमा संक्रमण देखिएको अस्पताल स्रोतले बताएको छ । दुईपटक उनको स्वास्थ्य अवस्थाबारे प्रेस विज्ञप्तिमार्फत् स्थिर रहेको जानकारी दिइएपनि शुरुमा उनको पेटमा संक्रमण देखिएको थियो ।

एपेन्डिसाइटिस फुटेर शरीरको विभिन्न भागमा संक्रमणको जोखिम बढेपछि संक्रमण हुन नदिन भेन्टिलेटरमा राखिएको थियो । शल्यक्रिया गर्ने क्रममा आधा लिटर पिप निकालिएको बुझिएको छ ।

पेटको संक्रमण फैलिएर मुटुमा पुगेको अस्पताल स्रोतले बताएको छ । संक्रमण बढेपछि खतरा बढ्न नदिन चिकित्सकले औषधी चलाइरहेका छन् । मुटुको गति सन्तुलित नभएपछि सन्तुलनमा ल्याउन प्रयास भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीको खास समस्या मृगौलाको हो । उनको १३ वर्ष अघि भारतको नयाँ दिल्लीस्थित अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो । नियमित उपचार गराउँदै आएका उनले पछिल्लो समय सिंगापुरस्थित अस्पतालमा उपचार गराउँदै आएका थिए । यसैपटक दुई हप्ताको अन्तरालमा दुईपटक सिंगापुर गई नियमित चेकजाँच गरेका थिए ।

ओलीको पछिल्लो समय पुनः मृगौला प्रत्यारोपणको पहल भइरहेको छ । उनले चारपटक हेमोडायलसिस गराइसकेका छन् । चिकित्सकले पुनः मृगौला प्रत्यारोपणको सल्लाह दिएका छन् ।

ओलीलाई अकस्मात् एपेन्डिसाइटिस हुँदा मंगलबार विहान पेट अचाक्ली दुखेको बुझिएको छ । त्यसपछि आकस्मिक रुपमा अस्पताल पुर्याइएको थियो । त्यहाँ रोग पत्ता लागेपछि तत्काल शल्यक्रिया गरिएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्