Logo

आफ्नै देशको रोजगारीले पुग्ने दिन कहिले आउला ?



काठमाडौँ, ११ मंसिर । चाडपर्व सकिएलगत्तै नेपालबाट रोजगारीका लागि दैनिक सयौँ नेपाली भारत जाने क्रम फेरि सुरु भएको छ । कर्णाली प्रदेश र प्रदेश ५ का पहाडी र तराई जिल्लाबाट आएर नेपालगञ्ज हुँदै भारत पस्ने नेपालीको हरेक दिन ओइरो लाग्दै आएको छ ।

सीमा नाकामा रहेको प्रहरीका अनुसार कर्णाली प्रदेश र प्रदेश ५ का पहाडी र तराई भेगका सयौँ युवा कामका लागि भारतका विभिन्न सहर जाने क्रम बढेको छ । खेतीपाती र दशैँ तिहारजस्ता ठूला चाडपर्व सकेपछि गाउँमा केही काम नहुने भएकाले आफ्नो वर्षभरिको खर्चको जोहो गर्न हजारौँ नेपाली युवा भारत जाने गरेका छन् । चाडपर्व मनाउन आएका पनि फेरि खर्च जुटाउन मुग्लान जान थालेका हुन् । नेपाल–भारत नाकामा रहेको जमुनाह प्रहरी चौकीका अनुसार जमुनाह नाका हुँदै अहिले दैनिक पाँच सयदेखि आठ सयको हाराहारीमा नेपाली भारत जाने गरेका छन् । नेपालगञ्जको रुपैडिहा नाका भएर भारत मजदुरी गर्न जानेहरूमा प्रदेश ५ का दाङ, बाँके, बर्दिया, रुकुम र कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रोल्पा, कालीकोट, जुम्ला जिल्लाबाट बढी मात्रामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।

मजदुरीका लागि अधिकांश नेपाली भारतको गढवाल, सिमला, चण्डीगढ, दिल्ली, हरिद्वारलगायतका स्थानमा जाने गरेका छन् । आफ्नो देशमा काम नपाएर बालबालिकाको पढाइलेखाइको चिन्तासँगै अन्य खर्चको जोहो गर्न बर्सेनि भारत जानु परेको भारतको सिमला जाने बसमा भेटिएका सल्यानका रवीन्द्र शाहीले बताए। उनले भारतमा जति पनि काम पाइने गरेकाले उता जानुको विकल्प नभएको पनि बताए। कालीकोटका जीवन रावलले आफ्नै देशमा काम पाएको भए अरूको देशमा गएर रगत पसिना बगाउनु नपर्ने थियो भने, आफ्नै देशको रोजगारीले पुग्ने दिन कहिले आउला भनेर आफूजस्ता हजारौँ युवाले प्रतीक्षा गरिरहेको पनि रावलले बताए। देहरादुन जान लागेका सुर्खेत रामघाटका राजन डाँगीले आफूहरू भारत नजाने हो भने बाँच्नै समस्या हुने र खर्च टार्नै नसकिने समस्या आउने गरेको बताए।

पश्चिम नेपालका सयौँ मानिस चाडपर्व सकिएपछि कात्तिक सुरुदेखि नै भारततर्फ मजदुरी गर्न जाने गरेकाले नेपालमै रोजगारीको व्यवस्था मिलाउनुपर्ने मागलाई अधिकांश युवाले अघि सारेका छन् । यसरी दैनिक सयौँको सङ्ख्यामा भइरहेको युवाको भारत पलायन रोक्न देशमा बढीभन्दा बढी रोजगारी सिर्जना गर्नुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष नन्दलाल वैश्यले यही नेपाली जनशक्तिलाई आफ्नै देशमा रोकेर काम र माम दिन सकेको भए जनता र देश दुवैको भलो हुने बताए।

गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्