Logo

साग भलिबल आजदेखि



काठमाडौं, ११ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलका खेल बुधबारदेखि सुरु हुने भएको छ। प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। बुधबार हुने महिलातर्फको उद्घाटन खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ। महिलातर्फ नै बुधबार माल्दिभ्स र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। १३औं सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल भने चार दिन अगाडि नै सुरु हुन लागेको हो। अन्य खेलहरू भने मंसिर १५ बाट मात्रै सुरु हुनेछ।

सागमा नेपाली महिला भलिबल टोलीले यसअघि भएका तीनवटै संस्करणमा कांस्य पदक जित्दै आएको छ। १०औं, ११औं र १२औं सागमा कांस्य पदक जितेको नेपाली टोली यस पटक उत्कृष्ट नतिजा दिने अभियानमा छ। अरुणा शाहीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीले अन्तिम तयारी गरिरहेको छ। यसैगरी पुरुषतर्फको खेलमा पनि नेपालले बुधबार बंगलादेशकै सामना गर्नेछ। पुरुषतर्फको एक मात्रै खेल साँझ ७ बजे सुरु हुनेछ। नेपाली टोलीको नेतृत्व इम रानाले गरेका छन्। पुरुष टोलीले भने अहिलेसम्म सागमा पदक जित्न सकेको छैन।

महिला टोली नगदसहित सम्मानित

सरकारले देशलाई ऐतिहासिक उपाधि दिलाउने राष्ट्रिय महिला भलिबल टोलीलाई मंगलबार नगद पुरस्कारसहित सम्मान गरेको छ। बंगलादेशमा हालै सम्पन्न ‘प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’ को उपाधि जित्दै महिला भलिबल टोलीले देशलाई ऐतिहासिक सफलता दिलाएको थियो। १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने आफ्ना खेलाडीको हौसला बढाउन मंगलबार काठमाडौंमा आयोजित शुभकामना कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन्।

खेलाडीसहित भलिबल टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँ प्रदान गरियो। बंगलादेशमा उपाधि जित्ने भलिबल टोलीका १२ खेलाडी, तीन प्रशिक्षक र एक प्रशिक्षक गरी १६ जनालाई नै नगद पुरस्कार प्रदान गरिएको हो। नेपाली टोलीमा खेलाडीका रूपमा अरुणा शाही ९कप्तान०, प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, निरुता ठगुन्ना, जानकी भण्डारी, उषा विष्ट, पुनम चन्द, सुनिता खड्का र आफिया पुन रहेका थिए। यसैगरी मुख्य प्रशिक्षकमा जगदीश भट्ट तथा प्रशिक्षकमा सलिना श्रेष्ठ र भरत यादव रहेका थिए। टोली व्यवस्थापकको भूमिकामा भने रीता कोइराला रहेकी थिइन्। उक्त प्रतियोगितामा नेपाली टोलीले आफूले खेलेको सबै खेल जित्दै उपाधि हात पारेको थियो। नेपालले फाइनलमा माल्दिभ्सलाई २५(१३, २५(१२, २५(८ अंकले हराएको थियो।

भलिबलमा नेपालको यो ऐतिहासिक पदक थियो। नेपाली भलिबलले ४१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा पहिलो पटक स्वर्ण जितेको हो। सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबलमार्फत अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको नेपाली भलिबलले यसअघि एभीसी र फिभको आधिकारिक प्रतियोगितामा पदक जित्न सकेको थिएन। नेपालले यसअघि सन् २०१४ मा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा रजत पदक जितेको थियो। नेपालको पुरुष भलिबल टोलीले तीन वर्षअघि माल्दिभ्समा भएको तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कांस्य पदक जितेको थियो। नेपाली भलिबल टोली यतिबेला स्वर्ण पदकको लक्ष्यसहित १३औं सागको अन्तिम तयारीमा व्यस्त छ। सेन्ट्रल जोनमा सहभागी हुनुअघि नेपाली टोलीले एक महिना थाइल्यान्डमा प्रशिक्षण गरेको थियो।

अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्