काठमाडौं, मंसिर ११ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्ष विकास समितिमार्फत दिने तयारी गरेको छ। मन्त्रालयले अस्ति सोमबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन आदेश २०७६ जारी गरेलगत्तै सो तयारी गरेको हो।
यसअघि मन्त्रीसहितको टोलीले संग्रहालय अवलोकन गरेर नेपाल भ्रमण वर्षअगावै लमजुङ कक्ष र फोहरा बगैंचाको व्यवस्थापन गर्न सांग्रिला होटललाई दिने तयारी गरेको थियो।
संग्रहालयको लमजुङ कक्ष भाडामा दिने विषयको आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संग्रहालयलाई असर पर्ने कुनै पनि काम नगर्ने भन्दै ट्विट गरेका थिए ।
मन्त्री भट्टराईको सो भनाइको आशय भाडामा नदिने भन्ने थिएन। सञ्चारमाध्यममा बढी हल्ला चलेपछि मन्त्रालय चुप बसेको थियो। विकास समिति गठन आदेशसँगै सो विषयले पुनः चर्चा पाउने भएको छ ।
मन्त्रालयको उच्च स्रोतका अनुसार विकास समिति गठन भएलगत्तै भ्रमण वर्षअघि नै भाडामा दिने विषयमा निर्णय हुन सक्छ। मन्त्रालयका उच्च कर्मचारीलाई भाडामा दिने विषयमा चुप लागेर बस्न आग्रह गरिएको छ।
मन्त्रालयका उच्च अधिकारीबीच भएको कुराकानीमा विकास समिति गठन भएपछि सो विषयमा निर्णय गर्ने तयारी भइरहेको आजको नेपाल समाचार पत्रमा खवर छ ।