Logo

नागढुंगा सुरुङमार्गः सुरुङ खन्न नौ सय टन विस्फोटक पदार्थ



काठमाडौं,मंसिर ११ । बहुचर्चित योजनाका रूपमा रहेका नागढुंगा सुरुङमार्ग आयोजनालाई भारी मात्रामा विस्फोटक पदार्थको आवश्यकता परेको जनाएको छ। आयोजनाको सुरुङ निर्माण प्रयोजनका लागि विस्फोटक पदार्थ आवश्यकता परेको हो। सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सुरुङ खन्ने प्रयोजनका लागि ९ सय टन विस्फोटक पदार्थ माग गरेको आयोजनाले जनाएको छ।

‘ब्लास्ट एन्ड ड्रिल मेथड’ अर्थात् विस्फोटन र खन्ने पद्धतिअनुसार सुरुङको कामका लागि भारी मात्रामा विस्फोटक पदार्थको माग भएको आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताए। ‘सुरुङ निर्माणका लागि भारी मात्रामा विस्फोटक पदार्थको माग छ। यसका लागि हामीले प्रक्रिया थालिसकेका छौं।

खरिद प्रक्रियामा सहमतिका लागि फाइल उठिसकेको छ।’उनले भने। आयोजनाले गएको हप्ता विस्फोटक पदार्थ माग भएबमोजिम फाइल उठाई प्रक्रियामा लगिसकेको छ।

आयोजनाको मागबमोजिम विस्फोटक पदार्थ खरिद गर्न प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला सुरक्षा समिति, गृह मन्त्रालय, रक्षा मन्त्रालय हुँदै नेपाली सेनासँग सहमति लिनुपर्ने प्रावधान रहेको छ।

सेनाले सहमति दिएपछि परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावास हुँदै भारतका विभिन्न कम्पनी छनोट गरी विस्फोटक पदार्थ किन्ने तयारी निर्माण पक्षको रहेको आयोजना प्रमुख खरेलले बताए। माओवादी विद्रोहका कारण विस्फोटक पदार्थ खरिदलाई कडाइ पार्दै सेनाको सहमति लिनुपर्ने अनिवार्य व्यवस्था छ।

यो व्यवस्थासँगै नेपाली सेनासँग भण्डारण भएको खण्डमा सेनासँग पनि खरिद गर्न सकिन्छ। तर, सुरुङ निर्माण कम्पनीले भने बाहिरैबाट खरिद गरी ल्याउने सोच बनाएको आयोजना प्रमुख खरेलले जानकारी दिएको नेपाल समाचारपत्रले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्