काठमाडौं, ११ मंसिर । भारतीय महिला संघका अध्यक्ष नम्रता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई पशुपति मन्दिर परिसरमा उच्च–गुणस्तरको लिथियम आयन ब्याट्रीजडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेकी छिन् ।
कोषलाई हस्तान्तरण गरिएका उक्त विद्युतीय सवारी वातावरणमैत्री सवारी साधनको उत्पादन भारतीय कम्पनी गयाम मोटर वकर््सले गरेको दुतावासले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।
अध्यक्ष पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र विशेष गरी महिला, बालबालिका, वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरुका लागि यी वातावरणमैत्री सवारीसाधन उपयोगी हुने बताईन् ।
विज्ञप्तीमा भनिएको छ,‘यी सवारीसाधनले दुई महिलाको लागि रोजगारीको अवसर पनि प्रदान गर्नेछ । भारत र नेपालका जनताबीच रहेको साँस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ गर्नुका साथै दुई देशका जनतालाई अझ नजिक ल्याउन विद्युतीय सवारीसाधनको हस्तान्तरण अर्को कोषेढुङ्गाको रुपमा रहनेछ ।’
भारतीय राजदूतावासको संरक्षकत्वमा रहेको भारतीय महिला संघ भारतीय महिलाहरुको एक सङ्गठन हो । जसले नेपालमा रहेका भारतीय महिलाहरुलाई एउटै मञ्चमा ल्याउने काम गर्दछ ।
उक्त संघले भारतीय र नेपाली महिलाबीच अन्तरक्रियाका लागि मञ्च प्रदान गर्नुका साथै भारतीय तथा नेपाली समुदायबीच सद्भाव र मित्रतालाई प्रवर्धन गर्ने काम गर्दै आएको छ । भारतीय महिला संघले नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलापहरु पनि गर्दै आएको छ ।
हालै यस संघले काठमाडौंको नव ईन्द्र धनुष अंग्रेजी आवासीय विद्यालय, कोसेली फाउन्डेसन, बाल सारथी, नेपाली स्नेही काख र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर परोपकारी कार्यक्रमहरु सञ्चालन गरेको छ ।
युनेस्कोको विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर तथा यस सँगैका क्षेत्रको संरक्षण तथा संचालनका लागि पशुपति क्षेत्र विकास कोषको स्थापना गरिएको हो ।