Logo

चुनावी सभामा दाहाल : देउवा र गगन थापा निशानामा (भिडियोसहित)



पोखरा । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चुनावी सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवा कटाक्ष गर्दै विभिन्न आरोप लगाएका छन् ।

आज पोखरामा भएको चुनावी सभामा बोल्दै दाहालले भारतले सार्वजनिक गरेको नक्सा प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर सार्वजनिक गरेको भन्ने देउवाको अभिव्यीक्तप्रति आक्रोष व्यक्त गरेका हुन् ।

गत शनिबार पोखरामा आयोजित चुनावी सभामा देउवाले ‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा जारी गरेको’ आरोप लगाएका थिए । उक्त आरोपलाई दाहालले उटपट्याङको संज्ञा दिँदै यस्तै अभिव्यक्तिका कारण कांग्रेस इतिहासमा सिमित हुन सक्ने बताए ।

देउवाले बोलेको चार दिनपछि बुधबार पोखरा पुगेर नेकपाको चुनावी सभामा बोल्दै प्रचण्डले त्यो दिन देउवाले सूर्यलाई हत्केलाले छेक्न खोजेको बताए । “शेरबहादुरजी पोखरा आएर झुठो बोल्नुभयो । घाम लागेको बेला हत्केलाले सूर्य छेक्ने काम गर्नुभयो ।” उनले भने ।

देउवाको गलत अभिव्यक्तिकै कारण कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित सुनिश्चित भएको दाहालको दावी छ ।

दाहालले देउवाको के गर्नेलाई भन्दा हेर्नेलाई लाज भनेजस्तो भएकोसमेत बताए । दाहालले गिरिजाप्रसाद कोइरालाको पार्टी झुठ बोल्ने र बेइमानी पार्टी भएकोमा चिन्ता लागेको बताए ।

दाहालले कांग्रेसलाई एकचोटी गहिरो गरी आत्मसमीक्षा गर्न सुझाबसमेत दिएका छन् । गिरिजाले नेपाल तपाईंको जिम्मा लगाएर जाँदैछु भनेको झलझली सम्झेको उल्लेख गर्दै दाहालले उट्पट्याङ कुरा गरेर देउवाले नेपाली जनतालाई उल्लु बनाउन खोजेको देखेर टिठ लागेको बताए ।

दाहालले कास्की २ मा नेपाली कांग्रेसले ७७ वर्षे उम्मेदवारलाई चुनावमा उतारेको भन्दै गगन थापालाईसमेत कटाक्ष गरेका छन् ।

चुनावी सभामा दाहालले गगन थापाले गत भदौमा संसदमा बोलेको कुराप्रति लक्षित गर्दै देवघाटतिर जानुपर्ने मान्छेलाई कांग्रेसले चुनावमा अघि सारेको भन्दै आलोचना गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएका बेला गत भदौ १८ गते संसदमा बोलेका कांग्रेस सांसद थापाले विरामी भएका ‘बा प्रधानमन्त्रीलाई’ नेकपाले आराम गर्न दिनुपर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्