Logo

लामो दूरीका चालक १६ घण्टा एक्लै 



काठमाडौँ, १२ मंसिर । पृथ्वी शाहीले बस चलाउन थालेको १८ वर्ष भयो । दशकयता उनी सुर्खेत–काठमाडौं रात्रिबस चलाइरहेका छन् । पेसागत जीवनमा दुर्घटना सामना नगरेका उनले यात्राका क्रममा धेरै दुर्घटना भने देखेका छन् । उनको अनुभवले भन्छ– चालकले कहिल्यै चाहेर दुर्घटना गराउँदैनन्, तर सबैले दोषी उनैलाई देख्छन् ।

काँकडभिट्टा–नारायणगढ रुटका चालक शालिग्राम काफ्ले २१ वर्षदेखि रात्रिबस हाँक्दै आएका छन् । सर्वसाधारण मात्र होइनन्, ट्राफिक प्रहरीको अध्ययनले समेत अधिकांश सडक दुर्घटनाको कारण चालकको लापरबाहीलाई देखाएको छ । गत आर्थिक वर्षमा मुलुकभर १३ हजार ४ सय २१ सवारी दुर्घटनामा २ हजार ७ सय ६२ को मृत्यु भयो । प्रहरीको ट्राफिक निर्देशनालयका अनुसार ९ हजार ९ सय ४० दुर्घटनाको कारण चालकको लापरबाही थियो । शाही यो तथ्य स्वीकार्न तयार छन् । तर उनको प्रश्न छ, ‘चालकलाई दुर्घटनाको डिलमा पुर्‍याउन बाध्य तुल्याउने पक्षलाई किन बेवास्ता गरिन्छ रु’ प्रफुल्लित मन लिएर बसपार्कबाट हिँडेका उनी जब सडकमा अरू कुनै सवारी दुर्घटना भएको देख्छन्, तब ‘मुड’ एकाएक बिग्रिन्छ ।

सुर्खेत–काठमाडौं यात्रामा यस्ता क्षण उनले धेरैपटक बेहोरेका छन् । ‘बाटोमा बस रोकेर ‘रिफ्रेस’ होऔं भने यात्रु रिसाउँछन्, साथमा अर्को ड्राइभर ९सहकर्मी० पनि हुँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा दुर्घटनाको भय बोकेर अघि बढ्नुको विकल्प हुँदैन ।’ सुर्खेत–काठमाडौं रात्रि सेवाको बस यात्रा १६ घण्टाको हुन्छ । जस्तोसुकै परिस्थिति आओस्, यो यात्रा उनीहरूले एक्लैले तय गर्नुपर्छ । अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० ले श्रमिकलाई दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन बाध्यात्मक सिद्धान्त त्यत्तिकै निर्धारण गरेको होइन । दैनिक हजारौं यात्रुको ज्यान बोकिरहेका यात्रुको हकमा भने यो नियमको कुनै परवाह छैन । ‘काठमाडौं आएर एक दिन सुत्ने हो, भोलिपल्ट फेरि आँखा मिच्दै कुदिहाल्नुपर्छ,’ उनले भने, ‘यस्तो तनावमा बस चलाउँदा दुर्घटना भइहाल्यो भने दोष फेरि ड्राइभरमाथि थोपरिन्छ ।’

सुर्खेत–काठमाडौं रुटमा दैनिक २६ वटा रात्रिबस ओहोर–दोहोर गर्छन् । जाजरकोट, जुम्ला र कालीकोटबाट काठमाडौंका लागि दुई–तीनवटा बस छुट्ने गर्छन् । सरकारले लामो रुटका बसमा दुई जना चालक अनिवार्य गरे पनि व्यवहारमा भने लागू भएको देखिँदैन । खर्च बढ्छ भनेर बसधनीले दुइजना चालक राख्दैनन् । सुर्खेत काँक्रेविहार यातायातका अध्यक्ष रमेश सापकोटाका अनुसार दुइजना चालक राख्दा प्रत्येक ट्रिपमा बसधनीलाई करिब १० हजार रुपैयाँ व्ययभार थपिन्छ । सुर्खेत–काठमाडौं रुटमा एउटा बसले सरदर ६ ट्रिप गर्ने गर्छन् । ‘कहिलेकाहीँ त बसमा सीट संख्याको आधा पेसेन्जर पनि हुँदैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा खर्च बढाउन थप ड्राइभर कसरी राखियोस् ।’ यस्तो अवस्थामा पनि सुर्खेत–काठमाडौं रुटमा करिब ४० प्रतिशत बसमा दुइजना चालकको ‘व्यवस्था’ गरिएको उनले बताए । सुर्खेत–काठमाडौंमात्र होइन, सुर्खेतदेखि कालीकोट, जुम्ला र मुगु चल्ने रुटमा चालकका दुस्ख अझ बढी छन् । यी रुटमा दुर्घटनाको प्रमुख कारक सडकको अवस्था हो । कर्णाली प्रदेश ट्राफिक कार्यालयका अनुसार गत वर्ष कर्णाली प्रदेशमा भएका १ सय ४६ सडक दुर्घटनामा १ सय १९ को मृत्यु भयो । चालु आर्थिक वर्षको चार महिनामा ६९ दुर्घटना भएका छन्, जसमा ३७ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी प्रमुख रामेश्वरप्रसाद यादव भन्छन्, ‘कर्णालीमा हुने सवारी दुर्घटनाको प्रमुख कारण भनेकै गुणस्तरहीन सडक हो, सडक नसुधारेसम्म दुर्घटना न्यूनीकरण गर्न असम्भव छ ।’

कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक र छिन्चु–जाजरकोटमा साँघुरा मोड हुनुका साथै सडक साँघुरो र बिग्रेभत्को छ । त्यसमाथि सुर्खेत–जुम्ला रुटको करिब १२ घण्टा लामो यात्रा एकजना चालककै भरमा चल्ने गर्छ । ०६६ देखि करिब तीन वर्ष कर्णाली राजमार्गमा बस चलाएका अनिल विक कर्णालीका ठूला दुर्घटनामा सडकको दोष औंल्याउँछन् । ‘प्रायस् ठूला एक्सिडेन्ट अप्ठेरो मोडमा भएका देखिन्छन्, जहाँ ड्राइभरसमेत बाँचेका छैनन्,’ उनले भने, ‘दोष भने मरेको ड्राइभरमाथि थोपरिन्छ ।’ हाल सुर्खेत–काठमाडौं रुटमा बस चलाउँदै आएका विकले तीन महिनाअघि ठूलो दुर्घटनाबाट बस जोगाए । काठमाडौंबाट सुर्खेतका लागि छुटेको केही समयमै गल्छी भन्ने स्थानमा बसको ब्रेक फेल भयो । धन्न जुक्ति लगाएर सडकको भित्तापट्टि बस धकेले । ‘सडक राम्रो छ, मैले पनि राम्रैसँग चलाएको छु,’ उनले भने, ‘तैपनि प्राविधिक कारणले बस झन्डै दुर्घटनामा परेको थियो, मुस्किलले जोगाइयो ।’ प्राविधिक कारणले पनि दुर्घटना हुने गरेको उनले बताए ।

कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot