काठमाडौँ, १२ मंसिर । लामो समयपछि शोधनान्तर स्थितिमा सकारात्मक परिवर्तन देखिएको छ। नेपाल राष्ट्रबैंकले भर्खरै चालु आर्थिक वर्षको पछिल्लो तीन महिनाको तथ्यांकअनुसार शोधनान्तर स्थिति सकारात्मक रहेको पाइएको छ। समग्रमा मुलुकले १४ अर्ब ४३ करोड शोधनान्तर बचत गर्यो। २०७५ असोजमा ३५ अर्ब ४२ करोडले शोधनान्तर घाटामा थियो।
यो अवधिमा वस्तुगत व्यापार घाटामा ह्रास आयो। आयातको वृृद्धिदर घट्यो। सबैभन्दा बढी आयात हुने वस्तु पेट्रोलियम पदार्थको आयात घटेको छ। नयाँ हवाईजहाज किन्ने परिस्थिति सिर्जना भएपछि हवाई पाट्र्सका सामानको आयात पनि घट्यो। व्यापक परिणाममा हुने सुन र सिमेन्ट तथा सिमेन्ट उत्पादनमा आवश्यक पर्ने क्लिंकरको आयात पनि घटेको छ। यसले गर्दा वस्तुगत व्यापार घाटा गएको तीन महिनामा झण्डै ११ प्रतिशतले घट्यो। निर्यात बढेको छ। निर्यात बढे पनि मूलतः आयातमा ह्रास आएकाले वस्तुगत व्यापार घाटा घटेको छ। आयात–निर्यात भनेबित्तिकै हामीले वस्तु मात्र देख्छौं। पाम आयलको निर्यात, कपडा र गाडीको आयात देख्छौं। विगत लामो समयदेखि वस्तुगत व्यापारभन्दा सेवाको व्यापार बढ्दै गएको छ। लत्ताकपडा, गाडी, हवाईजहाज, चिनी, चामल मात्रै होइन वस्तुगत व्यापार घाटालाई पहिले–पहिले सेवामा नाफा हुन्थ्यो, त्यसले गर्दा घाटापूर्ति हुन्थ्यो तर अहिले वस्तुगत व्यापारभन्दा सेवाको व्यापारको आयतन ठूलो छ। यसपालि सेवाको आयातमा सुधार भएको छ। सेवामा सबैभन्दा ठूलो क्षेत्र पर्यटन हो।
नेपालीले विदेशमा गएर खर्च गर्ने रकम घटेको छ भने विदेशी पर्यटक नेपाल आएर खर्च गर्ने रकम बढेको छ। २०७५ साउनदेखि असोजका बीचमा नेपालीले साढे २९ अर्बबराबर मुलुक बाहिर गएर खर्च गरे। अहिले २१ अर्ब २१ करोड मात्र खर्च गरे। अघिल्लो वर्षको तुलनामा यो झण्डै ८ अर्बभन्दा कम हो। नेपालीले विदेशमा गएर गर्ने खर्च घट्यो। विदेशी पर्यटकले नेपालमा आएर खर्च गर्ने रकम बढ्यो। गत साउन–असोजमा विदेशी पर्यटकले नेपाल आएर १५ अर्ब ६९ करोड खर्च गरेका थिए भने अहिले तीन अर्ब बढेर १८ अर्ब २८ करोड खर्च गरे।
नेपाली युवकयुवती विदेश पढ्न जान्थे। शिक्षा आर्जन गर्न जाँदा तिनीहरूले विदेशी मुद्रा लिएर जान्थे, त्यो रकम पनि घटेको छ। गएको आर्थिक वर्ष ०७५÷७६ को साउन–असोजको तीन महिनामा नेपाली विद्यार्थीले १७ अर्ब लिएर गएका थिए तर ०७६ को साउन–असोजमा यो घटेर १० अर्ब २४ करोडमा झर्यो। झण्डै सात अर्ब यहाँ बचत भयो। नेपालीले विदेशी पर्यटक भएर खर्च गर्ने रकममा आठ अर्ब घट्यो। विदेशी पर्यटकको आय दुई, तीन अर्बले बढ्यो। त्यसले गर्दा सेवा क्षेत्रबाट हुने घाटा गत वर्ष १९ अर्ब ८१ करोड रहेकोमा अहिले ६ अर्ब २७ करोड मात्र घाटा भयो। यहाँ पनि घाटाको परिणाम १२ अर्ब जतिले घट्यो। यसले गर्दा वस्तुगत व्यापार र सेवाको व्यापारमा पनि घाटा कम भयो।
यतिबेला पत्रपत्रिकाले विप्रेषण घट्यो भनेर लेखिरहेका छन्। हो, विप्रेषण पाँच प्रतिशतले घटेको छ। विप्रेषण हाम्रो विदेशी मुद्रा आर्जनको सबैभन्दा ठूलो स्रोत हो। हामीले विदेशमा सामान बेचेर र सेवा बेचेर विदेशी मुद्रा ल्याउँछौं। वैदेशिक सहयोग आउँछ। त्यो सबै एकै ठाउँमा जोड्ने हो भने पनि विपे्रषणलाई त्यसले भेट्दैन। विप्रेषणको परिणाम ठूलो छ। विपे्रषण आय पाँच प्रतिशतले घटेपछि हाम्रो चालु खाता घाटाको रकम पनि घट्यो।
केशव आचार्यको अन्नपूर्ण पोष्ट् दैनिकमा प्रकाशित आलेखको सम्पादित अंश ।