Logo

श्यामशरणले किन देखे ‘नेपालका दलहरुका लागि खतरा’



समाचार विश्लेषण । नेपालमा ‘माओवादी जनयुद्ध’को सुरक्षित अवतरण हुँदै गर्दा श्यामशरण भारतको महत्वपूर्ण पदमा थिए । उनी भारतको विदेश सचिव र त्यसपछि भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार बने ।

२०६२/६३ को जनआन्दोलन भइरहँदा श्यामशरण भारतका विदेश सचिव थिए । त्यसैले कतिपयले नेपालको जनआन्दोलनमा उनको विशेष भूमिका महत्वपूर्ण रहेको भन्ने गरेका छन् । श्यामशरण सन् २००२ देखि २००४ सम्म नेपालका लागि राजदूत बने । उनी राजदूत बन्दा नेपालमा नयाँ राजनीतिक घटनाक्रमको विकास भएको थियो । राजाको प्रत्यक्ष शासन देखि दल र तत्कालिन राजाबीचको द्धन्द्ध चर्किएको थियो ।

श्यामशरण भारतको विदेश सचिव हुँदा दिल्लीमा १२ बुँदे समझदारी भएको थियो । यसमा पनि उनको विशेष भूमिकाको चर्चा चल्ने गर्छ । श्यामशरणले नेपालको राजनीतिक परिवर्तनमा आफ्नो भूमिका अप्रत्यक्ष रुपमा अव्यक्त गर्ने गरेका छन् । नेपालमा गणतन्त्र स्थापना देखि धर्मनीरपेक्ष सम्मको अवस्था आउनुमा श्यामशरणको रणनीतिको मुख्य भूमिका थियो भन्दै वरिष्ठ पत्रकार युवराज घिमिरेले लेख्दै आएका छन् ।

श्यामशरणले अघोषित रुपमा नेपालको राजनीतिक परिवर्तनमा आफ्नो भूमिका रहेको संकेत इन्डियन एक्सप्रेसमा बुधबार एउटा लेखमार्फत् गरे । नेपाल आएर महत्वपूर्ण राजनीतिक भेटहरु गरेर फर्किएपछि उनले उक्त लेख लेखेका थिए । उनले लेखमार्फत् १२ बुँदे समझदारीका साझेदार दलहरुप्रति औंला ठड्याए । नेपालमा पछिल्लो समय बढ्दो भारतविरोधी गतिविधिमा दलहरुको भूमिकाप्रति तिव्र असन्तुष्टि व्यक्त गर्दै राजनीतिक खतराको संकेत गरे । विशेषगरी नेपालका राजनीतिक दलहरुले सीमा समस्याको विषयलाई राष्ट्रवादको रङ्ग दिएर उठाउन खोजे उनीहरुकै लागि खतरा बन्न सक्ने विषयको गहिरो व्याख्या गरे । ‘मित्रवत् तरिकाले सहमतिबाट हल गर्नुपर्ने विषयलाई राष्ट्रवादी रङ्ग दिएर उठाउन खोजे नेपालका राजनीतिक दलहरुलाई केही खतरा बन्न सक्छ,’ श्यामशरणले लेखेका छन् । नेपाल र भारतबीच मित्रता र सम्बन्धका कतिपय महत्वपूर्ण आधारहरुलाई बिगार्न खोजिएको समेत उल्लेख गरे । सीमाको पृथक अभ्यास नै जोखिममा पारिएको उनको तर्क थियो । उनले दलहरु भन्दा स्पष्ट रुपमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसतर्फ संकेत गरेका हुन् ।

श्यामशरणले नेपालमा क्षेत्रीय राष्ट्रवाद र भारतमा उठिरहेको सेक्युरिटी स्टेटले सीमाको पृथक अभ्यास जोखिममा परेको तर्क गरेका छन् । उनको आशय दुई देशबीच सम्बन्धका कतिपय आधार नै जोखिममा परेको भन्ने हो । श्यामशरणले नेपालमा भारतविरोधी बनेर राष्ट्रवादी बन्ने होडवाजी चलेको र त्यो चुनावी एजेन्डा समेत बन्ने गरेको उल्लेख गरेका छन् । तर, यसपटक बढ्दो भारतविरोधी लहरप्रति उनको तिव्र आक्रोश रह्यो । कुटनीतिक शब्द मिसाएर उनले दलहरुलाई चेतावनी दिएका छन् । यसलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

नेपालमा गणतन्त्र स्थापनापछि मजबुत दलहरु भारतप्रति सकारात्मक नभइरहेको श्यामशरणको लेखको सार देखिन्छ । उनले प्रयोग गरेको खतरा शब्द कतै व्यवस्थामाथि नै खतरा आउँछ भन्ने त होइन ? दलहरु बलियो भएको अहिलेको व्यवस्थाप्रति देशभित्र र बाहिरबाट प्रहार भइरहेको विषय नेपालका राजनीतिक दलका नेताहरुले उठाउँदै आएका छन् । यी विकसित घटनाक्रमले नेपालको राजनीतिमा नयाँ अवस्था आउने संकेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्