Logo

ओलीपछि नेकपाको नेतृत्वमा ईश्वर पोखरेल !



काठमाडौं, १२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केपी शर्मा ओलीपछि ईश्वर पोखरेल नेतृत्वमा आउने संकेत देखिएको छ । ओलीले आफूपछि पोखरेललाई नै नेतृत्वमा ल्याउनेगरि होमवर्क गरेका छन् । पोखरेल ओलीका विश्वासपात्र हुन् । ओलीले पनि पोखरेललाई महत्वपूर्ण जिम्मेवारी दिएर अघि बढाईरहेका छन् ।

अहिले पोखरेल नेकपाको स्कूल विभागको नेतृत्वमा छन् । यो महत्वपूर्ण विभाग हो । नेकपाभित्र जबजको च्याप्टर क्लोज नभएको भनेर बहस सिर्जना गर्ने पोखरेलले स्कुल विभागको नेतृत्व पाउँदा पूर्व माओवादी केन्द्रका नेताहरु उनीसँग सशंकित बनेका थिए । तर, यो विषय अहिले मत्थर भैसकेको छ ।

प्रधानमन्त्री ओली विदेश भ्रमणमा वा उपचारको लागि बाहिर जाँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पोखरेलले धेरैपटक वहन गरिसकेका छन् । पोखरेल ओली क्याविनेटमा प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा छन् । त्यसपछि उपेन्द्र यादव छन् । पोखरेलले उपप्रधान तथा रक्षामन्त्रीको पदभार गरेदेखि आजको दिनसम्म उनी कुनैपनि विवादमा मुछिएका छैनन् । प्रधानमन्त्री ओलीसँग सल्लाह नगरी उनी कुनैपनि महत्वपूर्ण निर्णय लिँदैनन् ।

पार्टीमा निर्णय लिनकोलागि ओलीलाई उनले सघाउँदै आएका छन् । नेकपाको आगामी एकता महाधिवेशनमा नेतृत्वको लागि ओली नउठे पोखरेल नै ओली पक्षबाट मैदानमा उत्रिने सम्भावना रहेको स्रोतको दाबी छ । ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आगामी महाधिवेशनमा पोखरेललाई नै मैदानमा उतार्ने बुझिएको छ ।

नेकपाका केही प्रभावशाली नेताहरुले भन्न थालेका छन्,‘अब केपी ओलीपछि उहाँको खास उत्तराअधिकारी भनेको नै ईश्वर कमरेड हो । अहिले त्यहीअनुसार तयारी भइरहेको छ । अहिले सरकारमा पनि ईश्वर पोखरेलको प्रस्तुति राम्रो छ। विवादरहित मन्त्रीको रुपमा चिनिनुभएको छ । उहाँले भारत र चीनसँग पनि सन्तुलित सम्बन्ध राख्नुभएको छ ।’ हुन पनि पोखरेलले साथी फेर्न सकिएपनि छिमेकी फेर्न सकिँदैन् भन्दै भारत र चीन दुवै देशसँग अत्यन्तै राम्रो सम्बन्ध राख्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्