Logo

प्रधानमन्त्रीज्यूको स्वास्थ्य राम्रो छ, आरामका लागि केही दिन अस्पतालमै राख्छौं- डा. उत्तमकृष्ण श्रेष्ठ



काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचारको व्यवस्थासहित उपचार भइरहेको मनमोहन कार्डियोथोराकिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरका कार्यकारी निर्देशक हुन् डा.उत्तमकृष्ण श्रेष्ठ । उनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र उपचारबारे ऋषि धमलाले गरेको कुराकानीः

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ ?
देशको प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका बारेमा देशभरका जनताले जानकारी पाउनुपर्छ । उहाँकोे स्वास्थ्य स्थितिप्रति ठूलो चासो र चिन्ता पनि छ । त्यस कारण यहाँ मैले केही भन्नैपर्छ । उहाँ मंगलबार भर्ना भएको अवस्थाभन्दा धेरै नै सुधार आएको छ ।
शल्यक्रियापछि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको हो ?
हो, शल्यक्रियापछि प्रधानमन्त्रीको स्वास्थ्यमा धेरै सुधार आएको छ । उहाँको उपचारको लागि छुट्टै टिम बनाइएको छ । त्यो टिमलाई नै सबै कुराको जानकारी हुन्छ ।
अहिले उहाँलाई कुन–कुन औषधि दिइएको छ ?
उहाँको उपचारको लागि एउटा टिम बनाइदिएको छु । त्यही टिमले सबै हेर्ने हो । मैंले टिमबाट पाएको जानकारी अनुसार समग्रमा राम्रो अवस्था छ ।
समग्रमा भन्नुपर्दा कस्तो अवस्था छ ?
प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा समग्रमा भन्नुपर्दा राम्रो अवस्था छ । सुधारोन्मुख छ, उहाँको उपचारमा संलग्न टिमको रिपोर्टको आधारमा मैले पनि भन्ने हो । उहाँहरुको भनाइअनुसार राम्रो छ ।
अब प्रधानमन्त्री कति दिन अस्पत्ताल बस्नुपर्ला ?
यसमा एकिन गरेर भन्न नसकिने दुई, चारवटा कुराहरु छन् । तपाईं हामी सबैलाई प्रधानमन्त्रीको लाइफ स्टाइल थाहा छ । उहाँ धेरै कडा काम गर्ने मानिस । कम्तिमा पनि दिन १७-१८ घण्टा काम गर्ने व्यक्तित्व हुनुहुन्छ । यो कसैबाट लुकेको छैन । त्यसकारण धेरै धपेडीलाई अलिकति कम गर्नुपर्छ भन्ने हाम्रो सोच हो । त्यसैले केही दिन आरामको लागि अस्पतालमै राख्ने हो कि भन्ने विचारमा हामी छौं । त्यसो हुनाले अहिलेनै दिनको गणना नगरौं ।
एक-दुई हप्ता नै राख्नुपर्ने हो ?
त्यो पनि नभनौं । हाम्रो अस्पतालमा त्यति धेरै राख्ने सिस्टम छैन । अहिले उहाँलाई आरामको आवश्यकता छ । त्यसको लागि बाहिर गएपछि धपेडी बढ्छ । त्यसकारण केही दिन अस्पताल नै राख्ने निधो गरेका छौं ।
त्यसो भए दुई-चार दिनमै बालुवाटार जानुहुन्छ ?
तपाईंको म्याथम्याटिक्समा २ र २ जोड्दार चार हुन्छ । हाम्रो मेडिकल साइन्समा त्यसरी २ र २ जोड्दा चार हुँदैन । हामीले पनि अनुमान गर्ने हो । त्यसकारण तपाईंको यो फिगरलाई पनि म ठ्याक्कै यति दिन भन्न सक्नेवाला छैन ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा जनताको चासो त छ नि ?
यहाँ मैले बोल्दा राजनीतिज्ञले बोलेजस्तो नहोस् । उहाँको स्वास्थ्य राम्रो होस् भन्ने मलगायत सम्पूर्ण जनताको चाहना छ । यो चाहनालाई सबैले साथ दिनुपर्छ । चाहना मिडियामा बोलेर मात्रै हुँदैन । त्यसलाई रियालिटीमा गरेर देखाउनुपर्छ ।
हिजो प्रधानमन्त्रीले के के खानुभयो ?
लामो हाँसो ……. मैले चाहिं खाएको देखिँन । उहाँको स्वास्थ्योपचारको लागि एउटा टिम छ । त्यो टिमको भनाइअनुसार झोलपद्धार्थ खानुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot