काठमाडौं, १२ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विकास निर्माणलाई योजनाबद्ध रुपमा अघि बढाइने बताएका छन् । पूर्वाधार निर्माणमा छिटोभन्दा छिटो उल्लेख्य प्रगति आवश्यक रहेको भन्दै उनले यसका लागि योजनाबद्ध रुपमा विकास गरिने विश्वास दिलाएका हुन् ।
मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पाँचथर पुगेका मन्त्री नेम्वाङले कार्यकर्तासँगको भेटघाटमा उनले सानादेखि ठूलासम्म योजना अघि बढाउने दायित्व आफ्नो भएको बताएका हुन् । नागरिकको सहजतालाई प्राथमिकतामा राखेर काम अघि बढाइने पनि उनले स्पष्ट पारे ।
मन्त्री नेम्वाङले भने,“नागरिक र पार्टीको अपेक्षा तथा दिशा निर्देशअनुसार कुनै कसर बाँकी नराखी कामलाई अघि बढाउँछु ।” सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभिभारा पूरा गर्न धेरै चुनौती र अप्ठ्यारा रहेको बताउँदै मन्त्री नेम्वाङले उक्त कार्यमा सरकारलाई सहयोग गर्न आग्रह गरे ।