Logo

प्रधानमन्त्री ओलीलाई यसरी हिंड्न सक्ने बनाए डाक्टरले



काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल महाराजगञ्जमा मंगलबार आकस्मिक रुपमा लगिंदा जटिल अवस्था थियो । मृगौलाको समस्या भोग्दै आएका ओलीलाई अघिल्लो राति देखि पेट दुखेको थियो । सहने क्षमता भएका उनले डाक्टरलाई दुःख नदिऊ भनेर बोलाएनन् ।

निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीसँग सहने क्षमता मात्र नभई उच्च मनोबल छ । उनलाई मंगलबार विहानै फोन आयो र प्रधानमन्त्रीको पेट दुखेको जानकारी दिइयो । उनी तत्काल बालुवाटार पुगिन् र अस्पतालमा लिएर आइन् ।

अस्पतालमा तत्काल चेकजाँच भयो । ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लाग्यो । मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टर मा शल्यक्रिया गरियो । उनको उपचारमा संलग्न डा. अरुण सायमीका अनुसार जीवन र मरणको दोषाधमा खतरा मोलेर शल्यक्रिया गरिएको थियो । उनले भने, ‘लायफ अर डेथ अवस्था थियो, यसबीच अपरेशन गरेका हौ ।’

ओलीको पेटमा संक्रमण बढेपछि भेन्टिलेटरमा राखियो । बुधबार भेन्टिलेटर हटाइयो । उनलाई कालो चीया पिउन दिइयो । त्यसपछि साँझ झोल पद्धार्थ खान दिइयो । कसैलाई भेट्न दिइएन ।

चिकित्सकको आठवटा टोली निरन्तर उपचारमा संलग्न भयो । बुधबार परिवारका सदस्यलाई भेट्न दिइयो । ओली बोल्न थालिसकेका थिए । उनले मिडियामा आएको समाचारबारे समेत चासो राखे ।

बिहिबार उनको स्वास्थ्यमा उल्लेख्य सुधार भयो । जाउलो खाए । उनी बेला बेलामा हिंड्न थाले । राष्ट्रपति विद्यादेवी भण्डारी साँझ अस्पताल पुगेर अवस्था बुझिन् । ओलीको आत्मबलबाट डाक्टर नै अचम्ममा परे । उनी आफूले दिएका निर्देशनहरु पालना भए नभएको चासो लिदै थिए ।

ओली अहिले कुराकानी गर्न सक्ने र हिंड्न सक्ने भएका छन् । तर, केही दिन अझै अस्पतालमा राखिने डा. सायमीले बताए । उनलाई आरामको जरुरी छ । एक महिना धपेडी लिन नहुने डा. दिव्यासिंह शाहको भनाई छ । तर, निकै सक्रिय रहन चाहने ओलीको स्वभावका कारण चिकित्सकहरु आरामको सुझाव दिइरहेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot