काठमाडौं, मंसिर १३ । राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन प्रक्रिया अघि बढाउन संसद् सचिवालयले निर्वाचन आयोगलाई पत्रचार गरेको छ। फागुन २० गतेदेखि १९ सदस्यको पद रिक्त हुने भएपछि सचिवालयले आयोगलाई पत्र पठाएर निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।
सदस्यहरुको पद रिक्त हुनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ५५ मा उल्लेख छ। यसअनुसार माघ १५ गतेभित्र निर्वाचन गरिसक्नुपर्छ।
राष्ट्रियसभाको पहिलो बैठक २०७४ फागुन २१ गते बसेकाले सोही मितिबाट पदावधि गणना हुन्छ। प्रत्यक दुई वर्षमा एकतिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ। सोही अनुसार एकतिहाइ सदस्यको पदावधि फागुन २० गते पूरा हुँदैछ।
५९ जना सदस्य रहेको राष्ट्रियसभामा नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट ४२, नेपाली कांग्रेसबाट १३, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबाट दुईदुईजना सदस्य छन्।
राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ भन्ने संविधानको व्यवस्थाअनुसार उनीहरुको यसअघि नै गोलाप्रथाद्वारा कार्यकाल विभाजन गरिएको थियो।
यसअनुसार प्रदेश १ मा कांग्रेस १ र नेकपा २ गरी तीन, प्रदेश २ मा कांग्रेस १, राजपा २ र समाजवादी १ गरी चार पद खाली हुँदैछन्। प्रदेश ३ मा नेकपा १ कांग्रेस १ गरी २ जनाको पद खाली हुँदैछ। गण्डकी प्रदेशमा कांग्रेसका २ जना सदस्यको पद खाली हुँदैछ। प्रदेश ५ मा कांग्रेसबाट १ र नेकपाबाट २ जनाको पद खाली हुँदैछ।
सुदूरपश्चिम प्रदेशबाट कांग्रेसबाट १ र नेकपाबाट १ गरी २ जनाको खाली हुँदैछ। राष्ट्रपतिबाट मनोनीत एकजनाको पनि पद खाली हुँदैछ।नागरिक दैनिकबाट