काठमाडौं, मंसिर १३ । द्वन्द्वपीडित साझा चौतारीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा हुन लागेको पदाधिकारी सिफारिस रोक्नुपर्ने माग गरेका छन् । उनीहरूले सिफारिस समिति विघटन गरेर पुनः नयाँ प्रक्रियाबाट आयोगको पदाधिकारी सिफारिस हुनुपर्ने बताएका छन् ।
बिहीबार ललितपुरमा भएको कार्यक्रममा द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले कानुन संशोधन नभएसम्म अब सिफारिस हुने पदाधिकारी आफूहरूलाई मान्य नहुने बताए ।
अहिले पीडितहरूमा जुन निराशाजनक अवस्था आउनुमा राजनीतिक दलको भूमिका रहेको उनको भनाइ छ । ‘पीडितको मुद्दाको प्रतिनिधित्व पीडित आफंैले गर्न पाउनुपर्छ,’ अध्यक्ष चौधरीले भने, ‘हामी आफ्नै देशको मौलिकतामा द्वन्द्व अन्त्य गर्नुपर्छ भन्नेमा छांै तर दलहरू अझै हाम्रो समस्या बुझ्न सकिरहेका छैनन् ।’
उनले पदाधिकारी सिफारिस खारेज गर्न सक्ने अवस्था भएन भने पनि नियुक्ति प्रक्रिया रोकिनुपर्नेमा जोड दिएको आजको राजधानी दैनिकमा खवर छ ।