Logo

स्थान अभावले ट्रान्सफर्मर चौरमा असरल्ल



काठमाडौँ, १३ मंसिर । देशका विभिन्न स्थानमा वितरण गर्न ल्याइएका ट्रान्सफर्मर हेटौँडाका विभिन्न स्थानका खुला चौरमा असरल्ल थुपारिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ग्लोबल टेन्डरमार्फत वितरणका लागि ल्याएको ट्रान्सफर्मर प्राधिकरणमा स्थान अभाव भएपछि हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौर, वडा नम्बर १० को टीसीएनको खुला चौरलगायतका स्थानमा राखिएको हो । विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७५÷७६ मा चिनियाँ र भारतीय गरी चारवटा कम्पनीबाट ट्रान्सफर्मर खरिद गरेको थियो । विभिन्न क्षमताका १३ हजार पाँचवटा ट्रान्सफर्मरमध्ये नौ हजारवटा हेटौँडा–५ स्थित केन्द्रीय भण्डारमा परीक्षण गरी देशको विभिन्न स्थानमा पठाइएको छ । केन्द्रीय भण्डारमा स्थान अभावका कारण खुला चौरमा अव्यवस्थित राख्नुपरेको बताउँदै केन्द्रीय भण्डारका प्रमुख बुद्धकुमार कार्कीले केन्द्रीय वर्कसपमा ट्रान्सफर्मर जाँच गरेपछि आफूहरूले जिम्मा लिएर वितरण गर्ने गरेको जानकारी दिए।

विद्युत् प्राधिकरणको ट्रान्सफर्मर जाँच गर्ने वर्कसप हेटौँडा र काठमाडौँमा मात्र रहेकाले खरिद गरिएको ट्रान्सफर्मर प्राविधिक रूपमा जाँच गर्न ढिलाइ भएको उनले बताए। प्राधिकरणले ग्लोबल टेन्डरमार्फत गत आर्थिक वर्षमा चिनियाँ दुई र भारतको दुई कम्पनीमार्फत ट्रान्सफर्मर खरिद गरेकामा भारतीय दुवै कम्पनी र चिनियाँ एउटा कम्पनीको सबै सामान आइसकेको छ । प्राधिकरणको केन्द्रीय वर्कसपमा अनिवार्य परीक्षण गराउनुपर्ने यी ट्रान्सफर्मर प्राधिकरणले समयमै परीक्षण गर्न नसक्दा अलपत्र परेका र समयमा माग भएको स्थानमा पु¥याउन नसकिएको हो । एउटा चिनियाँ कम्पनीको केही ट्रान्सफर्मर आएका र आउने क्रम बाँकी रहेको बताउँदै केन्द्रीय भण्डारका प्रमुख कार्कीले करिब चार हजार ट्रान्सफर्मर वर्कसपमा परीक्षण गरी पठाउन बाँकी रहेको जानकारी दिए। उनले भने, केन्द्रीय वर्कसपका ट्रान्सफर्मर जाँच गर्ने इन्जिनियर तालिमका लागि भारत गएकाले प्राविधिक परीक्षणमा ढिलाइ भएको हो । १५ देखि तीन सय केभीए क्षमतासम्मका ट्रान्सफर्मर आयात गरिएको छ । हाल ट्रान्सफर्मर आपूर्ति गर्ने कम्पनीले हेटौँडा–४ स्थित हुप्राचौरमा भाडा तिरेर राखेको छ भने केन्द्रीय भण्डारमा स्थान अभावमा टीसीएनको चौर र प्राधिकरणको २२० केभीए प्रसारण लाइनको कार्यालय परिसरमा समेत करोडौँ मूल्यका ट्रान्सफर्मर राखिएको छ ।

केन्द्रीय वर्कसपमा दैनिक ५० देखि ७० वटाको प्राविधिक परीक्षण गर्नसक्ने क्षमता रहेको छ ।प्राधिकरण केन्द्रीय भण्डारका प्रमुख कार्कीले ट्रान्सफर्मरको प्राविधिक परीक्षण गरी केन्द्रीय भण्डारमा नआएसम्म प्राधिकरणले जिम्मेवारी नलिने सम्झौता रहेको जानकारी दिए। उनले भने, केन्द्रीय वर्कसपमा प्राविधिक परीक्षण गरी ठीक छ भनेपछि मात्र हाम्रो जिम्मामा पठाइन्छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्