Logo

प्रधानमन्त्री ठीक भएपछि संविधान संशोधनबारे कुरा राख्छु : उपेन्द्र यादव



काठमाडौँ, १३ मंसिर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले आफू प्रेस स्वतन्त्रताको लागि लडेको मान्छे भएको बताएका छन् । उनले भने,‘म अहिलेको पत्रकारीता र पत्रकारहरुले अलिकति मर्यादित, सभ्य, सम्मानित, चेतना र चिन्तनशील हुनुपर्ने सल्लाह दिन चाहन्छु ।’

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले यस्तो बताएका हुन् । उनले भने,‘म दैनिक पत्रिकादेखि अनलाईनमा आएका समाचार हेर्ने र राम्रो समाचारलाई कपि, फोटो कपि गरेर राख्ने गरेको छु, तर अधिकाँश समाचार पढ्दा यस्तो पत्रकारिताले हामी र हाम्रो समाजलाई कहाँ पुर्याउँने हो भन्ने चिन्ता लाग्छ ।’

 मन्त्री यादवले स्वच्छ पत्रकारिताले समाजको आँखा खोलिदिने सुनाए । उनले भने,‘सुधारशील भावनाले चलाएको कलमले एक किसिमको जनमत सिर्जना गर्छ, तपाई हामी मिलेर अगाडि बढियो भने समाजमा राम्रो सन्देश प्रवाह गर्नसक्छ त्यसरी नै बढौं।’

उनले अगाडि भने,‘म मन्त्रालयको आकांक्षी थिईन। म बाहिर थिएँ । प्रधानमन्त्रीज्युले आफ्नो इच्छाले मलाई जिम्मेवारी दिनुभएको छ। यस मन्त्रालयमार्फत संविधान संशोधनका लागि प्रयास गर्न सकिन्छ कि भनेर स्वीकारेको हुँ। सकारात्मक र नकारात्मक विश्लेषण गरेर संसदीय बाटोमार्फत जानुपर्ने थियो।’

संविधानलाई लिएर सबैले दिपावली मनाउनु पर्नेमा त्यसो हुन नसकेको उनको गुनासो छ । यादवले भने,‘संविधान संशोधन र परिमार्जन गरेर अगाडि बढ्ने भनेर हाम्रो पार्टी सरकारमा आएको हो। यो आवश्यकता पनि छ। यस विषयमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठिक भएपछि उहाँसँग बसेर मिसनअनुसार अगाडि बढ्छौं। सम्भव भएन भने पार्टीको निर्णयअनुसार हामी अगाडि बढ्छौं। फेल भइयो वा असफल पारियो भने विकल्प खोज्छौं।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot