Logo

केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता



काठमाडौं, १४ मंसिर । २०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ । प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र जेडसीजीआई–खानी जेभीबीच ठेक्का सम्झौता भएको हो ।

सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गरे । जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको हो । प्रबलीकरणको अवधि दुई वर्षको छ ।

आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरुप कायम राखी भूकम्पप्रतिरोधी हुनेगरी प्रबलीकरण गरिने बताए । निर्माण कम्पनीका रत्न गौतमले तोकिएको समयमै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले एक हप्ताभित्र निर्माण कार्य सुरु गरिने जानकारी पनि दिए । परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रा.ली. एस. डब्लु. नेपाल प्रा. ली. र पिरामिड डिजाइन एसोसिएट्स प्रा.ली. को जेभी छनौट भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्