काठमाडौं, १३ मंसिर । नक्कली सरकारी कागजात बनाउने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ । प्रहरीले सुरक्षा निकायका सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रलगायत सामग्री गैह्रकानूनीरुपमा बनाएको आरोपमा ओखलढुङ्गा ३४ वर्षीय सविनकुमार तोलाङ्गी, चितवनका ३४ वर्षीय अमृत सुर्खेती र धादिङका २६ वर्षीय मधुसुदन दवाडीलाई पक्राउ गरेको हो ।
ब्यूरोले आज पत्रकार सम्मेलन गरी गैरकानूनीरूपमा नक्कली कागजात बनाई सर्वसाधारणबाट ठूलो रकम असुल गर्नेलाई पक्राउ गरेको जानकारी दिएको हो ।
ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले तोलाङ्गीले श्रेष्ठ फोटोे स्टुडियो गोँगबु, सुर्खेतीले स्टार डिजिटल फोटो स्टुडियो सिनामङ्गल र दवाडीले दुवाडी डिजिटल फोटो स्टुडियो महाराजगञ्जबाट सरकारी नक्कली कागजात बनाएको अनुसन्धानमा खुलेको जानकारी दिए ।
अपराध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखतसम्बन्धी कसुरअन्तर्गत दफा २७६ विपरीत कसुर भएकाले २७६ ९३० को ग बमोजिम सात वर्ष कैद र ७० हजार जरिवना हुने कानूनी प्रावधान छ ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम