काठमाडौं, १३ मंसिर । नेपालको जनसंख्या बढेको बढ्यै छ । खेलप्रेमीहरुको संख्या पनि बढेकै छ । तर, देशको मुटु त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको सिट क्षमता घटेको घट्यै छ ।
वि.स. २०१३ मा निर्माण गरी २०१५ मा खोलिएको रङ्गशालामा त्यतिबेलाको क्षमता ४१ हजार थियो । तर, रङ्गशालालाई आधुनिक बनाउने भन्दै तीनपटक पुननिर्माण गरियो । जतिपटक पुर्ननिर्माण गरियो त्यति नै पटक क्षमता घटाइयो ।
दशरथ रङ्गशालाको पहिलोपटक पुननिर्माण गर्दा ३० हजार क्षमतामा झारियो । २०५५ मा रङ्गशाला पुननिर्माण गरियो । २०५६ मा सार्क खेलकुद आयोजना गर्न पुननिर्माण गर्दा क्षमता कम गरियो । २०६८ मा एएफसी च्यालेन्ज कमका लागि पुननिर्माण गरियो । त्यसपछि क्षमता १८ हजार बनाइयो ।
२०७२ सालको भूकम्पले क्षति पुगेपछि अन्तर्राष्ट्रिय स्तरको बनाउँदा २५ सय सिट घटाइयो । अहिले रङ्गशालाको क्षमता १५ हजार पाँच सयमा झरेको छ । छ दशकमा रङ्गशालाको क्षमता आधाभन्दा बढी घटेको छ । तर, सरकारले नयाँ रङ्गशाला निर्माणमा तदारुकता देखाउन सकेको छैन ।
६३ वर्ष पुरानो रङ्गशालालाई नै प्रयोगमा ल्याएको छ । शहिद दशरथ चन्द ठाकुरको स्मृतिमा रङ्गशाला निर्माण गरिएको हो ।
यो रङ्गशालाले विभिन्न अन्तर्राष्ट्रिय खेलको आयोजना गर्यो । यसैमा विभिन्न स्टेज शो देखि राजनीतिक दलको कार्यक्रम समेत गरियो । कतिपय नाम चलेका नेताहरुको अन्तिम श्रद्धाञ्जली समेत यसै रङ्गशालामा भयो । यी रङ्गशालामा १३ औं दक्षिण एशियाली खेलुकदेको १४ मंसिरमा उद्घाटन हुँदैछ ।
देशमा छ दशकबीच राजनीतिक उलटपुलट भइरहे । तर, नयाँ रङ्गशाला बनाउने क्षमता कसैले देखाउन सकेनन् ।