Logo

सागका लागि जनकपुर तयार



जनकपुरधाम, मंसिर १४ । १३औं दक्षिण एसियाली खेलकुद सागका लागि जनकपुरधामस्थित कभर्डहल रंगरोगन गरी चिटिक्क पारिएको छ। वर्षौंदेखि फुटेका झ्याल र ढोकामा नयाँ सिसा लगाइएको छ ।

कभर्डहलको प्रयोगविहीन शौचालयमा टायल बिछ्याइएको छ । खेलका लागि चारैतिर बत्तीको व्यवस्था गरेर झकिझकाउ पारिएको छ । १३औं सागमा समावेश गरिएका २६ मध्ये एउटा खेल आयोजनाको अवसर जनकपुरले पनि पाएको छ। आफूले पाएको यो ऐतिहासिक अवसरलाई अविस्मरणीय बनाउन चाहन्छ, जनकपुर।

जनकपुरमा १३औं सागको कुस्ती खेल हुँदैछ। कुस्ती यस क्षेत्रको मौलिक खेल पनि हो। त्यसैले प्रतियोगितालाई भव्य बनाउन जनकपुरले कुनै कसर बाँकी राखेको छैन। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरीले बताए। ‘

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् राखेप र जिल्ला खेलकुद विकास समितिको संयुक्त टोलीले प्रतियोगिताको आवश्यक तयारी पूरा गरेको छ’, उनी भन्छन्।

‘खेलका लागि कभर्डहलको मर्मतसम्भार, रंगरोगन, भौतिक पूर्वाधार निर्माण, झ्यालढोका निर्माण, स्टेज र बत्ती जडान, शौचालय निर्माण, दर्शकदीर्घा, भीआईपी कक्ष, मर्मतलगायतका काम पूरा भइसकेको छ’, अध्यक्ष चौधरीले भने।

उनले प्रतियोगितालाई लक्षित गरी खेलाडीको सुरक्षा, पाहुनाको स्वागत, प्रचारप्रसार, आवास व्यवस्थापन तथा खेल स्थलको सौन्दर्यकरणलगायतका व्यवस्थापकीय काम पूरा भएको जानकारी दिए।अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्