Logo

‘राष्ट्रलाई धोका दिएर भाग्ने’ तुलसा खत्रीमाथि कोर्ट मार्सल हुने



काठमाडौं, १४ मंसिर । नेपाली सेनाले तुलसा खत्रीप्रति गर्व गर्दै आजभन्दा २२ दिनअघि उनले दश वर्ष पुरानो राष्ट्रिय किर्तिमान तोडेकोमा खुशी साटेको थियो । एथलेटिक्सतर्फ चार सय मिटर दौडमा तुलसाले ५९.५७ सेकेन्डमा दौड पूरा गर्दै किर्तिमान बनाएकी थिइन् । यसअघि ५९.९० सेकेन्डमा किर्तिमान थियो ।

चीनको हुआनमा सातौं सैन्य खेलकुदमा तुलसाको रेकर्डप्रति सेनाले गर्व गर्दै फेसबुक पेजमा समेत लेखेको थियो । तर, तिनै तुलसाले सेनामात्र नभई सिंगो देशलाई नै धोका दिइन् ।

कुनै खेलाडीलाई राष्ट्रलाई ठूलो धोका दिन्छ । त्यो पनि अन्तर्राष्ट्रिय खेलका लागि छानिएर खेल हुनैलाग्दा भागेर । खेलाडी त्यो पनि नेपाली सेनाका सैनिक । तुलसा खत्री खेलाडी मात्र नभएर सैनिक पनि हुन् ।

बन्द प्रशिक्षणमा रहेकी तुलसा भागेर कतार उडेको खबर आयो । देशबाटै भागेर कतार पुगेकी तुलसा खत्री विगतमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी हुन् । उनी चीनमा भएको सैन्य प्रतियोगितामा सहभागी भई राष्ट्रिय किर्तिमान बनाउन सफल भइन् ।

साग खेल अन्तर्गत चार सय मिटर र चार सय मिटर हडरल्समा देशको प्रतिनिधित्व गरी पदकको आशा गरिएकी खेलाडी हुन् । बुधबार विहान मन्दिर जान्छु भनी हिंडेकी उनले साँझ आठ बजे अभ्यासमा आउन नसक्ने जानकारी दिएकी थिइन् ।

तुलसा खत्रीका लागि राष्ट्रले धेरै लगानी गरिसकेको छ । तर, उनी किन कतार गइन् ? देशलाई धोका दिएर बन्द क्याम्प छाडेर भाग्ने उनले नियमको उल्लंघन गरेकी हुन् । अब उनीमाथि कारबाही अगाडि बढ्ने भएको छ । सैनिक नियम अनुसार उनीमाथि कोर्ट मार्सल हुनसक्छ । सैनिक स्रोतका अनुसार तुलसाले नियमानुसार कारबाही भोग्नुपर्छ । उनले सेनामा कुनै जानकारी नगराई भागेकाले कडा कारबाही हुनसक्छ ।

Photo Source: Nepal Army



प्रतिक्रिया दिनुहोस्