काठमाडौँ, १४ मङ्सिर : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरभित्र हरियाली उद्यान निर्माण कार्य अभियानकै रुपमा शुरु गरेको बताए । वडा नं ५ बुद्धविहारले आयोजना गरेको कार्यक्रममा उनले महानगरमा भएका सार्वजनिक निर्माण गर्ने कार्यमा निरन्तर लागिरहेको जानकारी गराए ।
उनले भने, “बत्तिसवटै वडामा रहेका सार्वजनिक जग्गाको पहिचान गर्ने र उद्यान निर्माण गर्ने कार्यमा महानगरपालिका निरन्तर लागिरहेको छ ।” आगामाी तीन वर्षभित्र सबै वडामा निर्माणको काम सक्ने उनले जानकारी गराए । अहिले कमलपोखरी, इको, शङ्कपार्क, बागमती नगर, शान्ति र बुद्ध उद्यान निर्माणको कार्य भइरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
उद्यान निर्माणसँगै गोर्खा भूकम्पका कारण क्षति भएको ऐतिहसिक सम्पदाको पुनः निर्माण कार्यमा पनि महानगरपालिकाको सक्रियता रहेको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य नारायण सिलवालले महानगरपालिकाले सार्वजनिक सम्पत्तिको पहिचान गरी संरक्षण गर्ने कार्यमा लाग्नुपर्ने भन्दै त्यहाँका लागि प्रदेशले पनि सहयोग गर्ने बताए ।
वडाध्यक्ष रमेश डङ्गोल र नेकपाका नेता वीरेन्द्र प्रजापतिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्नेमा जोड दिए । महानगरको रु ९० लाखको आर्थिक सहयोगमा वडा नं ५ मा वुद्धविहार बनाउने काम भइरहेको छ । हालसम्म महानगरले वडा नं ३, ६ र २९ मा रहेको सार्वजनिक जग्गाको पहिचान गरिसकेको छ । वडा नं ३ मा १५, वडा नं ६ मा १० र वडा नं २९ मा नौ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको छ ।
महानगरका अनुसार वडा नं ३ मा पहिचान भएको जग्गालाई संरक्षण र सबैको पहुँचमा ल्याउन बगैँचा निर्माणका लागि डिजाइनको काम भइसकेको छ । अन्य वडाको जग्गा पहिचान गर्न केही समयअघि नै प्रमुख शाक्यले सबै वडाका वडाध्यक्षलाई निर्देशन दिएका थिए । ती सबै जग्गाको पहिचान गरी प्रयोगमा ल्याइने भएको छ ।
चालू आर्थिक वर्षमा सार्वजनिक जग्गा पहिचान र संरक्षण गर्न रु तीन करोड विनियोजन गरिएको छ । यसअघि केही सार्वजनिक जग्गामा व्यक्तिगत व्यवसाय सञ्चालन हुँदै आएको थियो । कतै टहरा बनाएर नागरिकले जीवन गुजारिरहेका थिए । अब ती सबै सञ्चालन भइरहेका व्यवसाय र टहरा हटाई सामूहिक प्रयोगमा ल्याइने बताइएको छ ।रासस