काठमाडौं, १४ मंसिर । सरकारले जुन समूहमाथि कडा नीति लिदै आएको छ त्यो समूह विरोध प्रदर्शनमा उत्रिने भएको छ । त्यो पनि सीमा अतिक्रमणविरुद्ध । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सीमा अतिक्रमणविरुद्ध विरोध कार्यक्रमको घोषणा गरेको छ । आज विप्लव समूहका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरी विरोध प्रदर्शनको घोषणा गरेका हुन् ।
उसले सीमा बचाऊ अभियानले हालै सार्वजनिक गरेको नक्शा बोकेर विरोधका कार्यक्रम गर्ने भएको छ । विप्लव समूहको प्रदर्शन भारतविरुद्ध लक्षित रहेको छ । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत ७१ स्थानमा सीमा मिचेको भन्दै २२ मंसिरमा काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने तय गरेको छ । सीमा बचाऊ अभियानले जारी गरेको नक्शासहित प्रदर्शन गर्ने उल्लेख छ ।
सीमा बचाऊ अभियानमा पूर्व प्रधानन्याधीश सुशीला कार्की, वरिष्ठ पत्रकार भैरव रिसाल, पूर्व सचिव डा. द्धारिकानाथ ढुंगेललगायत प्रवुद्ध व्यक्तिहरु छन् ।
विप्लव समूहले १५ मंसिरबाट विरोधका कार्यक्रम तय गरेको छ । जस अनुसार भोलि जुलुस निकालिने भएको छ । १७ मंसिरमा सीमा अतिक्रमणबारे अन्र्तक्रिया, १९ गते नक्सा प्रचार, २० गते नक्शा प्रदर्शन, २२ गते भारतीय दूतावास अगाडि प्रदर्शन, २४ गते ज्ञापनपत्र बुझाउने र २६ गते साहित्यिक कार्यक्रम गर्ने तय गरेको छ ।
कालापानीको विषय उठिरहँदा विप्लव समूह मौन रहेको अवस्थाबीच उसले एकाएक विरोधका कार्यक्रम घोषणा गरेको हो । देशमा साग खेलकुद उद्घाटन हुने दिनबाट नै उसको कार्यक्रम तय भएको छ ।
को को छन् सीमा बचाऊ अभियानमा
समाजमा राष्ट्रकवि माधवप्रसाद माधवप्रसाद घिमिरे, शताब्दीपुरुष सत्य मोहन जोशी, डा. गौरीशंकर लाल दास, पूर्व गर्भनर हिमालय शम्शेर ज.ब.रा, भैरव रिसाल, प्राध्यापक उपेन्द्रमान मल्ल, त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व न्यायाधीश गौरी बहादुर कार्की, कृष्णराज बर्मा, सामाजिक चिन्तक डा. चैतन्य मिश्र, डा. तुलसीराम वैद्य, पूर्व सचिव, द्वारिकानाथ ढुंगेल, प्रा.डा. नरेन्द्रराज खनाल, डा. पिताम्बर शर्मा, बैरागी काँईला, शान्ता श्रेष्ठ, सन्त बहादुर पुन, स्वनाम साथी, हिरण्य लाल श्रेष्ठ, प्रा.डा. त्रिरत्न मानन्धर, राजेन्द्र सुवेदी, शान्ता मानवी, पूर्व प्रधानन्याधीश सुशिला कार्की, सीमाविद् बुद्धि नारायण श्रेष्ठ, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र डा. जगत कुमार भुषाल रहेका छन् ।