काठमाडौँ, १५ मंसिर । झापा, दमकको बेलडाँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी २९ वर्षीया सावित्री गुरुङले ०७४ कात्तिक २१ मा मोरङ जिल्ला अदालतमा ४२ वर्षीय चिरञ्जीवी राईसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिपाऊँ भन्दै निवेदन दिइन् । राईसँग तीन वर्षअघि चिनजान भएको र प्रेम सम्बन्ध कायम भएलगत्तै घरजम गरेको उनले निवेदनमा उल्लेख गरेकी थिइन् । निवेदन आएकै दिन जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले उनीहरूलाई लोग्नेस्वास्नीको मान्यता दियो ।
तिनै सावित्रीले एक महिनापछि ०७४ मंसिर २६ गते जिल्ला अदालत भक्तपुरमा खगेन्द्र बलम्पाकीसँग लोग्नेस्वास्नीको नाता कायम गराई पाऊँ भन्दै अर्को निवेदन दिइन् । यो निवेदनमा भने उनले झापाबाट भक्तपुरस्थित मामाको घर आउनेजाने क्रममा फोन तथा फेसबुकबाट कुराकानी हुँदै खगेन्द्रसँग प्रेम सम्बन्ध स्थापित भएर बिहे भएको विवरण लेखेकी छन् । उनले ०७४ वैशाख २८ मा आफूहरूले बिहे गरेको पनि उल्लेख गरेकी थिइन् । यता पनि निवेदन दिएकै दिन जिल्ला न्यायाधीश महम्मद जुनैद अजादको इजलासले सावित्री र खगेन्द्रलाई लोग्नेस्वास्नीको मान्यता दियो । अदालतमा एकीकृत सूचना प्रणाली अभाव रहेको फाइदा उठाउँदै सावित्रीले करिब एक महिनाको अन्तरमा दुई जिल्ला अदालतमा दुई फरक पुरुषसँग ‘बिहे’ गरेकी थिइन् । यसको पछाडि भने ठगी र मानव तस्करीको धन्दा रहेको खुलेको छ । इटहरीको बीपी चोक बस्ने थमन भनिने खगेन्द्र बलम्पाकीलाई एक दिन काठमाडौंको पुरानो बानेश्वर बस्ने जेठी सासूको घरमा डेरा गरी बस्ने सरस्वती राईले सुनाइन्, ‘गाउँले ज्वाइँ पर्ने पूर्णबहादुर राईले भुटानी शरणार्थीसँग बिहे गराएर सजिलै अमेरिका लगिदिन्छ रे ।’ सरस्वती पनि भुटानी शरणार्थीसँग अदालती बिहे गरेर अमेरिका उड्न लागेको बताएपछि उनले पत्याए । सरस्वतीकै चिनापर्चीका आधारमा खगेन्द्रले ०७४ मंसिरमा झापा बेल्डाँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी पूर्णलाई भेटे । पहिलो पल्ट भेट्दा त उनलाई सजिलै अमेरिका पुगिन्छ भन्नेमा उतिसाह्रै विश्वास थिएन । तर पूर्णसँगै उभिएकाहरूले भने, ‘उहाँले कतिलाई अमेरिका उडाइसक्नुभयो । तपाईंको काम पनि भइहाल्छ ।’
पूर्णले उनलाई जुक्ति दिएका थिए, भुटानी शरणार्थी परिचयपत्र बाहकसँग अदालती बिहे गर्ने र उसैको लोग्ने बनेर सजिलै अमेरिका जाने । कुरा पत्याएर खगेन्द्रले पूर्णलाई केही दिनमै ११ लाख रुपैयाँ थमाइदिए । अनि एक दिन पूर्णले उनलाई भक्तपुर जिल्ला अदालत बोलाए । त्यति बेला उनको मनमा चिसो नपसेको होइन । अदालती बिहे त झापामै गर्न सकिन्थ्यो तर किन भक्तपुर बोलाइयो । धेरै चासो राखे काम बिग्रेला कि भनेर उनले केही सोधनेन् । पूर्णले भनेअनुसार खगेन्द्र भक्तपुर जिल्ला अदालत आए । पूर्णले उनलाई अदालतभित्र न्यायाधीशसमक्ष केके भन्ने भनेर सिकाए । उनले भने अनुसारै उत्तर दिए । एक छोरीका बाबु खगेन्द्रलाई न्यायाधीशले सोधे, ‘तपाईंहरूले प्रेम सम्बन्धपछि विवाह गर्नुभएको हो रु’ उनले ‘हो’ भने । सावित्रीको निवेदनअनुसार न्यायाधीश महम्मद जुनैद अजादको इजलाशले लोग्नेस्वास्नीको नाता कायम गरिदियो । अदालतले लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिदिए पनि खगेन्द्रले सावित्रीलाई दोस्रो पटक मात्रै देखेका थिए । ‘कागजी बिहेपछि मेरो सावित्रीसँग भेट भएन,’ उनले भने । श्रीमतीसँग सल्लाह गरेरै आफूले अमेरिका जाने लोभमा अदालती बिहे गरेको खगेन्द्रले बताए । भने, ‘पैसा दिइसकेपछि पूर्णले भनेअनुसार गर्नैपर्ने थियो ।’ पूर्णले बेलाबेला उनलाई भन्थे, ‘यो सबै कुरा गोप्य राख्नुपर्छ है ।’ अदालतबाट निस्केपछि उनलाई लागेको थियो, अब विधिसम्मत रूपमै अमेरिका उडिने भइयो । तर उनले भनेजस्तो भएन । पछि पूर्ण सम्पर्कमै आउन छाडे । पहिलो पटक शिविरमा र दोस्रो पटक अदालतमा भेट भएकी सावित्री पनि अमेरिका उडिसकेको पत्तो पाए ।
उनको मनमा चिसो पस्यो । उनले सावित्री र पूर्णको खोजी सुरु गरे । त्यही बेला उनले थाहा पाए, संखुवासभा खाँदबारी घर भएका चिरन्जीवी राईलाई पनि पूर्णले झुक्याएका रहेछन् । कानुनी छिद्र प्रयोग गर्दै पूर्णले उनीहरूलाई भक्तपुर जिल्ला अदालत र चिरञ्जीवी राईलाई मोरङ जिल्ला अदालतबाट एउटै केटी सावित्रीसँग बिहे गराइदिएका रहेछन् ।
कान्तिपुर दैनिकबाट