काठमाडौँ, १५ मंसिर । मुगुम कार्मारोङ गाँउपालिका—९ चिमातकी दुर्गा र छायाँनाथ रारा नगरपालिका—१२ बलाचौरका वीरेन्द्र विक, नाम परिवर्तन बीच बालविवाह विरुद्धको तालिममा पहिलो पटक भेट भयो। उनीहरू दुवै अभियन्ता बालबालिका हुन्। तर समाजमा बालविवाह रोक्ने विषयमा तालिम लिन सँगै बसेका उनीहरूले नै त्यस्तो तालिम लिएको एक सातामै बिहे गरे। दुवै परिवारको सहमतिमा गत असोजमा उनीहरूले भागी विवाह गरे।
छायाँनाथ रारा नगरपालिका—४ निवासी उपासना र सोही वडाका विमल बुढा (नाम परिवर्तन) को १४ वर्षकै उमेरमा बिहे भयो। बाल सञ्जालमा आबद्ध उनीहरूले पनि विभिन्न तालिम, गोष्ठी र बैठकमा सहभागी हुँदाहुँदै बिहे गरेका हुन्। आपसमा माया बसेपछि गत असोजमा उनीहरूले सुटुक्क विवाह गरेका थिए। विद्यालय स्तरीय बाल क्लबमा आबद्ध उनीहरू बिहेअघि बालअधिकारका विषयमा वकालत गर्दै आएका थिए। जिल्लाको मुगुम कार्मारोङ गाँउपालिका—८ माँग्रीस्थित बुद्ध माविमा अध्ययनरत १४ वर्षीया देवीसरा र सोही विद्यालयमा अध्ययनरत १५ वर्षीय राजन केसी (नाम परिवर्तन) ले पनि प्रेम विवाह गरे। कक्षा ९ मा अध्ययनरत उनीहरू दुवै बाल अभियन्ता हुन्। बालविवाहविरुद्ध सचेतना फैलाउने अभियानकै क्रममा देवीसरा र राजनबीच माया बसेपछि विवाह गर्ने निर्णयमा पुगेका हुन्।
माथिका पात्रहरू केही प्रतिनिधि पात्र मात्र हुन्। पछिल्लो समय जिल्लामा अभियन्ता किशोरकिशोरीहरूले नै बिहे गर्ने चलन बढेको छ। अभियन्ता किशोरकिशोरीहरू जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने र सोही अवसरमा आपसी प्रेममा परेर बिहे गर्ने गरिरहेका छन्। जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाले बालविवाहविरुद्ध निरन्तरजस्तै अभियान सञ्चालन हुन्छन्। तर अभियानबाट जनचेतना फैलाउनुको साटो अभियन्ता किशोरकिशोरी नै बालविवाह गर्न थालेपछि यसबारे सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। अरुलाई सानै उमेरमा बिहे नगर्न सुझाव दिने बाल अभियन्ताले आफैं बालविवाह गर्न थालेपछि गाउँघरमा नकारात्मक धारणा फैलिन थालेको माँग्रीका स्थानीय पेमातोर्चे लामाले बताए। जिल्लामा स्कुल र समुदायमा आधारित सबै बाल क्लबले बालबालिकाको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी, सेमिनार र छलफल जारी छन्। तर अभियन्ता किशोरकिशोरीले नै उमेर नपुगी सानैमा बिहे गर्न थालेपछि समस्या बढ्दै गएको हो। बालविवाहविरुद्ध अभियान तथा कार्यक्रम लक्षित वर्गसम्म नपुग्दा बालविवाह न्यूनीकरणमा चुनौती बढेको महाकाली नमूना माविका प्रधानाध्यापक देवबहादुर मल्लले बताए।
जिल्लामा बालविवाह गर्नेको संख्या धेरै भए पनि एकिन तथ्यांक छैन। चार स्थानीय तहमध्ये सबैभन्दा बढी बालविवाह सदरमुकामको छायाँनाथ रारा नगरपालिकामा हुने गरेको छ। बालबालिकाको अधिकार कार्यान्वयन तथा बालविवाह न्यूनीकरण गर्न आधा दर्जनभन्दा बढी गैरसरकारी संस्थाले काम गरिरहेका छन्। तर उमेर नै नपुगी बिहे गर्नेको संख्या घटेको छैन। बालविवाहविरुद्ध गैरसरकारी संस्थाले गरेका क्रियाकलाप स्थानीय सरकारले निरन्तरता नदिँदा समस्या आएको गैरसरकारी संस्था महासंघ मुगुका अध्यक्ष सुरेन्द्र मल्लले बताए। बालविवाहविरुद्ध अभियानलाई थप प्रभावकारी बनाउँदै बाल विहे गर्ने र गराउनेलाई कारवाहीको दायरामा ल्याउने यहाँका स्थानीय तहले जनाएका छन्।
अन्नपूर्ण पोष्ट्बाट