Logo

प्रधानमन्त्री ओलीको घाउ निको हुँदै, यही हप्ता डिस्चार्ज गरिने



काठमाडौं, १५ मंसिर । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उनको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन् ।

“प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ ।” उपचारमा सम्लग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले रासससँग भने ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीले विहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिडडुल गर्न थालेका थिए । कार्यकारी निर्देशक श्रेष्ठले भने “हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ । शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ ।”

अरु बिरामीभन्दा मिर्गाैला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ । यसका लागि चिकित्सकको निगरानीका साथ विशेष आराम आवश्यक पर्छ । घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले बताईन् । file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्