Logo

नेपाललाई १५ स्वर्ण



काठमाडौं, १७ मंसिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पहिलो दिन १५ स्वर्ण जितेको छ । सागको औपचारिक उद्घाटन भएको भोलीपल्ट १२ विधाको खेल भएकोमा नेपालले कराँते र तेक्वान्दोबाट मात्र १४ स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित खेलकुद परिसरमा सम्पन्न कराँते र तेक्वान्दो गरी दुई विधामा नेपालले सामान सात सात स्वर्ण पद जित्यो । त्यसैगरी, पोखरामा सम्पन्न ट्रायथलनबाट एक गरी नेपालले पहिलो दिन १५ स्वर्ण हात पारेको हो । करातेको एकल कातातर्फ मण्डेकाजी श्रेष्ठले पाकिस्तानका नियमतुल्लाहलाई पराजित गरी स्वर्ण पदक जितेका हुन् । श्रेष्ठले २६।७२ अङ्क प्राप्त गर्दा पाकिस्तानी खेलाडी नियमतुल्लाहले २४।९२ अङ्क पाएका थिए । उनले पुरुष एकल काता तर्फ जितेको स्वर्ण नै नेपालको लागि तेह्रौं सागमा पहिलो स्वर्ण पदक बन्न पुग्यो ।

तर तेह्रौं सागको पहिलो स्वर्ण भने पाकिस्तानका खेलाडी साहिदाले हात पारे। उनले कराँतेको व्यक्तिगत् कातामा नेपालकी चञ्चला दनुवारलाई पराजित गरे। चञ्चलाले भने पहिलो रजत दिलाएर तेह्रौं सागमा नेपाललाई पहिलो पदक दिलाए।
कराँते टिम काता पुरुष समूहबाट मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर र महिला समूह काता तर्फ निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण पदक दिलाए। कराँते तौल समूह तर्फ नेपालले चार स्वर्ण जित्यो । कराँते ५५ किलो तौल समूह लक्ष्मण तामाङले स्वर्ण जिते । ८४ किलो माथिको विधामा विप्लवलाल श्रेष्ठ, ४५ किलो मुनिमा कुसुम खड्का र ५० किलो मुनि विधामा अनु अधिकारीले स्वर्ण जिते।

तेक्वान्दो पुम्से अन्तगर्त २३–२९ वर्ष उमेर समूहमा कमल श्रेष्ठ, १७–२३ वर्ष उमेर समूहमा सिना मादेन लिम्बु, २३–२९ वर्ष समूहमा पार्वती गुरुङ र २९ वर्षमाथिको उमेर समूहबाट आयशा शाक्यले एक एक गरी चार स्वर्ण जिते।
तेक्वान्दो पुम्से अन्तगर्त २९ वर्षमाथिको संयुक्त समूहमा आयशा शाक्य र सञ्जिवकुमार पाण्डे, महिला समूहमा १७–२३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमिल्सिनाले र २३–२९ वर्ष उमेर समूहतर्फ निता गुरुङ, प्रशंसा क्षेत्री र सुसिला राईले स्वर्ण पदक जिते । पोखराको लेकसाइडमा सम्पन्न ट्रायथलनमा सोनी गुरुङले स्वर्ण पदक दिलाए।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्