समाचार विश्लेषण । तुलसा खत्री बन्द क्याम्पबाट भागेर कतार पुगिन् । नेपालले एथलेटिक्सतर्फ पदकको आशा राखेको तुलसाले कतारमा कुनै अवसर पाएर भागेको तथ्य खुल्दै गएको छ । तर, यसले खेलाडीमा खेल अनुशासनको कमी र कडा कारबाहीको परिपाठी विकास नहुँदाको उदण्डता छर्लंग भएको छ ।
हुनत सैनिक समेत रहेकीले नेपाली सेनाकी भगौडामा समेत दर्ता भएकी तुलसालाई कारबाहीको विषय साग खेलपछि जानकारी गराइने भएको छ । तर, देशलाई घात गरेर विभिन्न बहानामा विदेश पलायन हुनेहरुलाई उन्मुक्ति दिन नहुने विषय उठिरहेको छ । विगतमा विदेशमा खेल्न जाँदा नेपाली खेलाडीहरु पलायन भएको घटना छन् । बक्सिङ खेलाडीहरु दुई दशक अघि दक्षिण कोरियामा वेपत्ता भएका थिए । अन्य खेलका खेलाडी पनि वेपत्ता भए । देशको प्रतिष्ठामा आँच पुर्याउने यस्ता गतिविधि आफैमा गम्भीर हुन् ।
बन्द क्याम्प छाडेर रात्री क्लबमा जाने चार नेपाली फुटबल खेलाडीमाथि एन्फाले कारबाही गरिसकेको छ । स्टार स्ट्राइकर विमल घर्तीमगर समेतले उन्मुक्ति पाएनन् । विश्वकप छनोट खेल्न भुटान जानु अघिल्लो राति रात्रीक्लब पुगेका उनीहरुमाथि कारबाही भएको हो । यसले खेल अनुशासन कायम गर्ने कदममा केही मद्दत पुग्ने आशा गरिएको छ ।
बन्द क्याम्प संवेदनशील विषय हो । अन्तर्राष्ट्रिय खेलमा कुनैपनि देशका खेलाडी अन्य देशबाट प्रभावित हुने सम्भावनालाई पनि दृष्टिगत गरी बन्द क्याम्पमा राखिन्छ । अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङका घटना धेरै भएका छन् । पैसाको लोभमा खेलाडीहरु पनि प्रभावित हुनसक्छन् । खेलमा खाना, स्वास्थ्य र आत्मबल वृद्धिका लागि निगरानीसहित बन्द क्याम्पसमा राख्नुमा खेल मिलेमतो नहोस् भन्ने पनि हो ।
विगतमा नेपाली फुटबल टोलीका पाँच खेलाडीमाथि म्याच फिक्सिङको अभियोग लाग्यो । उनीहरुलाई अदालतले उन्मुक्ति दियो तर फिक्सिङका धेरै तथ्यहरु प्रहरीले बाहिर ल्यायो । खेलाडीहरुको कमाईबारे समेत शंकास्पत विषय बाहिर आए ।
खेलमा अनुशासन कायम नहुँदा नेपालको कतिपय आशा गरिएका खेलमा पनि प्रदर्शन सन्तोषप्रद छैन । खेल स्तर नबढ्नुमा सुविधा र साधनको कमी भनेर दोष देखाउने गरिन्छ । तर, नेपालभन्दा कम सुविधा र साधन पाउने अफ्रिकाका कतिपय देशका खेलाडीले ओलम्पिकमा पनि अब्बल प्रदर्शन गरेर पदक जितेका छन् । खाली खुट्टा दौडिएर ओलम्पिक जित्नेहरु पनि इतिहासमा दर्ज छन् । खेलमा साधनभन्दा इच्छाशक्ति र आत्मबल महत्वपूर्ण हुन्छ । त्यो सँगै अनुशासन अनिवार्य हुन्छ । खेलको पर्याय नै अनुशासन हो । अनुशासन कायम नगर्नेले विभिन्न बहाना गरेर खेलस्तर बढाउन सक्दैनन् । त्यस्ता खेलाडी अवसरवादी सोचले ग्रस्त हुन्छन् । कोही विदेश पलायनको बाटो ढुकेर बस्छन् त कोही म्याच फिक्सिङमा लाग्छन् । देशलाई घात गर्न पछि पर्दैनन् ।