Logo

नेम्वाङलाई सभामुख बनाउन ओलीको प्रस्ताव, प्रचण्ड सहमत



काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन सहमति भएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार काण्डमा मुछिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त छ । आगामी एक महिनाभित्र हिउँदे अधिवेशन सुरु हुन्छ । तर, हिउँदे अधिवेशन सुरुसँगै नयाँ सभामुख चयन प्रक्रियापनि थालनी गर्ने प्रमुख सत्तारुढ दल नेकपाको तयारी छ ।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच सभामुख कसलाई बनाउने भन्नेबारे भद्र सहमति भएको छ । स्रोतकाअनुसार ओलीको पहिलो रोजाईमा नेम्वाङ छन् । तर, यसअघि पूर्व माओवादीको कोटाबाट महरा सभामुख बनेका थिए । अहिलेपनि नेकपाभित्र सभामुख पूर्व माओवादीले नै पाउनुपर्ने माग छ । योसँगै सभामुखको लागि पूर्व माओवादीबाट देव प्रसाद गुरुङ, अग्नि सापकोटा र पम्फा भुषाल दावेदार थिए । दाहालले पनि सापकोटालाई सभामुख बनाउन सुरुमा लागिपरेका थिए । तर, पछिल्लो समय आएर उनी पनि नेम्वाङलाई नै सभामुख बनाउन राजी भएका छन् ।

प्रधानमन्त्री ओलीले वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिनको लागि आग्रह गरिसकेका छन् । नेम्वाङ सभामुख बने तुम्बाहाम्फे मन्त्री बन्ने चर्चा छ । हालै गरिएको मन्त्रिपरिषद पूनर्गठनको सन्ध्यामा ओलीले तुम्बाहाम्फेलाई मन्त्री बन्नको लागि आग्रह गर्दै तत्काल उपसभामुखबाट राजीनामा दिन आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्